काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमालेले भनेका सबै कुरा ठीक भन्दै जाने हो भने पार्टीलाई २०८४ को निर्वाचन सामना गर्न गाह्रो हुने बताएका छन् । कांग्रेसको पूर्वआप्रवासी समन्वय विभागले सुर्खेतमा आयोजना गरेको ‘विदेशदेखि स्वदेशसम्म’ विषयक प्रदेश भेलालाई सम्बोधन गर्दै नेता शेखरले लोकतान्त्रिक मूल्य मान्यताको नै अवमूल्यान हुनेगरी एमालेसँग सहकार्य गर्न नहुने बताए ।
‘एमालेका सबै कुरा ठिक भन्दै जाने हो भने आउने २०८४ सालको निर्वाचनलाई कसरी फेस गर्ने हो । यस विषयमा पार्टीले रणनीतिक रूपमा अगाडि बढ्नुपर्छ । हामी लोकतान्त्रिक पार्टी हौँ । लोकतान्त्रिक मूल्य मान्यतालाई नै अवमूल्यन हुने गरी एमालेसँग सहकार्य गर्नु हुँदैन,’ नेता कोइरालाले भने ।
कांग्रेस अहिले सरकारमा भएपनि राम्रो काम गर्नका लागि सरकारको आलोचना जरुरी रहेको उनले बताए । सहीलाई सही र गलतलाई गलत भन्न नसक्नेहरू कांग्रेस हुनै नसक्ने उनको भनाइ छ । नेता कोइरालाले मुलुकको समस्या समाधानको लागि भनेर दुई ठूला राजनीतिक दल मिलेर सरकार बनाउने र समस्या जस्ताको तस्तै रहने परिस्थितिको बारेमा गम्भीर समीक्षा हुन जरुरी रहेको पनि उनले बताए ।
अहिले देश एमालेकरण गर्ने प्रयास भइरहेको भन्दै मुलुकको मुख्य–मुख्य जिम्मेवारीमा एमालेकै मान्छे रहेको उनले बताए । प्रधानमन्त्री, सभामुख, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, लगानी बोर्डको अध्यक्ष, गभर्नरजस्ता प्रमुख जिम्मेवारीमा एमाले रहेको उनले बताए । मुलुकको अर्थतन्त्रदेखि सुशासनको अवस्था नाजुक रहेको उनले बताए ।