२०८१ फागुन १० गते शनिवार / Feb 22 , 2025 , Saturday
२०८१ फागुन १० गते शनिवार
Ads

क्लासिक कथाहरूको संग्रह ‘दृश्य प्रलेख’

hardik ivf
२०८१ फागुन १० गते ०६:२०
क्लासिक कथाहरूको संग्रह ‘दृश्य प्रलेख’

–चन्द्र खड्का

आख्यानको एउटा भेद कथा । कथा लेखनमा अनेकौं प्रयोग भएका छन् । कोही लेखन शैलीमा र कोही विषय प्रस्तुतिमा मौलिकताको खोजीमा निरन्तर सक्रिय छन् । यसै मेसोमा भर्खरै बजारमा आएको ‘दृश्य प्रलेख’ शैलीगत रूपमा क्लासिकल देखिन्छ ।

गोपालचन्द्र भट्टराईद्वारा लिखित १७ थान कथाहरूको यो संग्रह शिखा बुक्सबाट प्रकाशित छ । प्रस्तुत कथासङ्ग्रहको अद्योपान्त अध्ययनपछिको पाठकपरक प्रतिक्रियात्मक समीक्षा हो यो । मूलतः नारी केन्द्रित विषयलाई उठान गरी नारीकै पक्षमा स्वाभाविक परिवेश सिर्जना गर्दै परिवर्तन उन्मुख समाजको चित्रणमा संग्रहका कथाको संरचना बुनिएको छ ।

मान्छेको रूपमा कि सोचमा अन्तर्निहित हुन्छ सौन्दर्य ? भन्ने प्रश्नमा रञ्जिता र श्यामसुन्दरको बहस अल्झिन्छ ‘डन्डीफोर’ कथा । दमित यौनकुण्ठाको उपज, जवानीको संकेत, कुरूप बन(ाउने रोग के हो डन्डीफोर ? के साँच्चिकै कुरूपताको उत्कर्ष स्वरूप हो यो ? बारम्बार श्रीमतीको अनुहारमा भएको डन्डीफोरलाई लिएर गरिएको नकारात्मक टिप्पणीबाट आजित रञ्जितामा अन्ततः नारीप्रति लादिने पुरुष प्रवृत्तिप्रति आक्रोश छ ।

कथाकारले पुरुषमा हुने कुण्ठा, लाचारी र ‘इन्सेक्योरिटी फिलिङ’ जस्ता सन्दर्भलाई प्रस्तुत कथामार्फत देखाएका छन् । श्रीमान्–श्रीमतीबीचको सम्बन्ध गालाको डन्डीफोरमा अडिएको हुन्छ कि आत्मीय भावमा ? भन्दै आडम्बरको पोकालाई छर्लंग पारिएको छ । गालामा देखिने डन्डीफोरको दाग त मेट्न सकिन्छ तर संकीर्णताले सिर्जित मानव मनको दाग अतीतको ‘दृश्य प्रलेख’बाट मेट्न नसकिने निष्कर्ष प्रस्तुत गरिएको छ ।

पछिल्लो दशकमा मानवले भोगेको वैश्विक त्रासदी सायद कोरोनाको प्रभाव हुनुपर्छ । हरेक मान्छेले बाँचेको त्रासपूर्ण अवस्था साहित्यमा धेरै आए पनि कथाकारले ‘पराजित गमन’ कथामार्फत हृदयसंवेद्य रूपमा प्रस्तुत गरेका छन् । सर्वहाराले आहाराको जोहोमा अनेक संघर्ष गर्नुको विकल्प छैन अनि यस्तै मनुवालाई अनेक विपत्तिले पनि सजिलै सिकार बनाउँछ ।

मङ्गले र डोल्मा जस्ता श्रमजीवीलाई कोरोनाले पारेको प्रभावको सन्दर्भलाई रोचक पाराले कथाकारले पस्केका छन् । पात्रअनुकूल लवज, थेगो र कौतूहलपूर्ण परिवेशअनुकूल वर्णनले कथा गजबको बनेको छ । सबै उच्च वर्गका मानिस स्वार्थी र शोषक मान्ने सामाजिक भाष्यलाई सुप्रिया र प्रद्युम्न पात्रमार्फत गलत साबित गरिदिएको छ ।

अर्कातिर देवतुल्य मानिने चिकित्सा पेसामा सबै सहृदयी नहुने र पाषाणहृदयी ठानिने प्रहरीमा पनि प्रद्युम्न जस्ता उच्च मानवीय संवेगात्मक भावनाका व्यक्तिको पनि कमी नभएको दृष्टान्त दिन खोजिएको छ ।

कतिपय लेखकले पाठकलाई कमजोर ठानी पाठकीय अनुभूतिसमेत आफैं स्पष्टीकरण दिन तल्लीन हुन्छन् । यसका विपरीत भट्टराईको प्रस्तुत संग्रहका सबैजसो कथाको टुंग्याउनीमा खुल्लापन छ । यसैको एक उदाहरण हो ‘पाप धर्म’ शीर्षकको कथा ।

ब्राह्मण परिवारकी सुनिता क्रिस्चियन बनेकी छ र हरेक कार्यमा प्रभुप्रति अनुगृहीत हुन्छे । कथाको अन्त्यमा ‘ऊ त्यस रात फुपूकामा गइन’ले पात्रहरूबीचको शारीरिक सम्बन्धको तथ्य पाठकको दिमागमा स्वतः बन्छ । अतृप्त यौन चाहना र पाशविक व्यवहारको भेदको सीमाको ख्याल गरिएको देखिन्छ । धर्म संस्कार परिवर्तनमा कुनै बेला नेपालमा चलेको दशक लामो द्वन्द्वको परिणाम देखाइएको छ । 

यौन चाहना मानवीय स्वभाव हो । यो हुनु स्वाभाविक हो र नहुनुचाहिँ अभाव हो । यसको सीमा सामाजिक मर्यादाले कोरेको हुन्छ । तुलनात्मक रूपमा पुरुषमा बढी देखिनु र महिला वर्गमा यसको प्रकटीकरणमा अन्तर्मुखी बनाइएको हुन्छ । ‘चञ्चली’ कथाले यसै तथ्यलाई प्रस्तुत गरेको छ । परदेसिएको लोग्नेको अनुपस्थितिमा गुम्स्याएर राखेकी दमित इच्छा, चाहना, कुण्ठाको पोको खोलेकी छ चञ्चलीले । जसवीरेको उपस्थितिले उसको अवचेतन मनमा गुम्फित चाहनालाई पूर्ति गर्ने सहज अवसर भेट्टाएकी छ ।

मृत्यु कसैको परिवारजनमा स्वाभाविक लाग्दैन । सेनामा कार्यरत छोराको युवावयमा नै मृत्यु भएपछि काजक्रिया सकिनासाथ बुहारीले सैनिक मुख्यालयबाट प्राप्त हुने क्षतिपूर्ति दाबीको प्रसंग छ ‘अँध्यारो उज्यालो’ कथामा ।

यसमा आफन्तहरू नै कसरी असहज परिस्थितिको फाइदा लुट्न उद्यत हुन्छन् भन्ने देखाइएको छ । खासमा आफ्नो लोग्नेको मृत्युको क्षतिपूर्ति दाबी गर्न नेपथ्यमा भूमिका खेल्ने अर्कै भएको देखाएर पात्रहरूको मनोविज्ञानलाई पाठकमाझ रोचक शैलीमा देखाइएको छ । 

भूतकाललाई बिर्सेर वर्तमानमा रमाउनुको विकल्प छैन मान्छेसँग । वर्तमानलाई बिर्सेर भूतमा हराउन थाल्ने हो भने न वर्तमानमा जिउन सकिन्छ, न त विगतमा फर्कन । ‘भूत वर्तमान’ शीर्षकको यस्तै कथा छ ।

दुर्घटनामा श्रीमती गुमाएपछि दोस्रो विवाह गरे पनि पहिलो प्रेममा निर्मग्न हुँदा वर्तमान बिग्रेको देखाइएको छ । प्रस्तुत कथाका माध्यमले परिस्थितिअनुकूल जिउन सक्नुपर्ने सन्देश दिन खोजिएको प्रतीत हुन्छ ।

मानव मनमा अनेकौं संवेगात्मक अनुभूति हुन्छन् । रिस, क्रोध, आवेशात्मक प्रस्तुति क्षणिक हुन्छन् भन्ने कुरालाई ‘शत्रुताको सीमा’ कथामा प्रस्तुत गरिएको छ । अनुहार देख्दै ग्रह नमिलेर रिस उठेझैं गर्ने २ पात्र कट्टर शत्रुताको व्यवहार गर्छन् । यस्ताबीच पनि जब एकले अर्कोलाई गुमाउनुपर्ने आकस्मिक बाध्यात्मक परिस्थिति आइपर्छ, तब अनुपस्थितिले कठोर ट्रमामा पुग्न सक्ने देखाइएको छ । 

नेपालको सामाजिक संरचनामा पितृसत्ताका कारण लैंगिक उपस्थितिमा ठूलो विभेद देखिन्छ । ‘लोग्नेमान्छे’ कथामा यसै विषयलाई रोचक शैलीमा प्रस्तुत गरिएको छ । एकातिर कर्मचारीतन्त्रमा राजनीतिक हस्तक्षेपप्रति तीव्र व्यंग्य, अर्कातिर नारी शक्ति र बालमनोविज्ञानलाई पनि सग्लो ढंगमा देखाइएको छ । 

आफू लोग्नेमान्छे भएकै कारण घरमा श्रीमतीलाई अचाक्ली हेपाहा प्रवृत्ति देखाउने पुरुष पात्र र उसको छोराको मनोविज्ञानमा पारेको नकारात्मक प्रभावलाई अन्त्यमा सकारात्मक टुंग्याउनीमा लगेर समताको सन्देश दिइएको छ । सत्ता र शक्तिको पहुँच, लैंगिक समानतामूलक सोच, बालमनोविज्ञान र परिवर्तन उन्मुख नेपाली समाजको जीवन्त प्रस्तुति छ । 

नेपाली समाजमा जरो गाडेर बसेको जातिगत विभेदको समस्यालाई ‘विद्रोह’ कथाले पस्केको छ । यसले तथाकथित दलित भनेर हेप्ने संकीर्णतालाई नर्स पेसामा आबद्ध सुनिता परियारले गरेको सरल एवं मृदुभाषी व्यवहार र उसको जातिगत पहिचानपछि गरिएको घृणित सोचविरुद्ध विद्रोह गराइएको छ । अर्कातिर, विप्रेषणले विसंगत बन्दै गएको देखाइएको छ ।

१७ थान कथामध्ये अधिकांशमा नारीको सबल उपस्थिति प्रमुखताका साथ देखाइएको छ । युवा अवस्थामा हुने शारीरिक आकर्षणले निम्त्याएको विषम परिस्थितिको कथा ‘लकडाउन’ छ भने ‘आडम्बर’ कथामा अनावश्यक कृत्रिमतामा रमाउने ढोंगी समाजको चित्रण छ ।

विद्वेषपूर्ण अवस्थामा एकअर्काको उपस्थिति नस्वीकार्ने २ पात्र अस्पतालको एउटै कोठामा आमनेसामने भएका छन् ‘श्राप’ कथामा । यसमा कोरोनाका सिकार बनेका ती दुवैलाई मृत्युले सबैलाई समान हैसियत दिएको देखाइएको छ । 

अरूको उपचार गर्दागर्दै आफैं कोरोना संक्रमणमा परेका डा. इमानुअल र नर्स क्याथरिनको कारुणिक अवस्थाले पाठकलाई गम्भीर बनाउँछ ।

प्रहरीले अपराध नियन्त्रणमा अनेक जटिल परिस्थितिको सामना गर्नुपर्ने विषयलाई रहस्यात्मक शैलीमा रचित कथा हो ‘चोर पुलिस’ । गाउँघरमा वस्तुभाउले बिगार गरेपछि तिर्ने प्रचलनलाई भनिने ‘अर्मल’ कथाले दुइटा परिवेशलाई एकसाथ प्रस्तुत गरेको छ । 

गाउँमा बाबुहरूबीच अर्मल लिने–दिने कुरामा तीव्र वैमनस्य भइरहँदा शहरमा छोरा–छोरीबिच वैवाहिक सम्बन्धले कथा अनौठो टुंग्याउनीमा पुगेको छ ।
कथाकारले ‘अबला र सबला’ कथामा महिलामा हुने बाँझोपन र पुरुषको काम वासनात्मक प्रवृत्तिप्रति उछितो काढेका छन् । पुरुषका गलत कदमविरुद्ध खरो रूपमा उत्रिन महिला एकजुट हुनुपर्ने आवश्यकताको बोध गराएका छन् ।

समग्रमा, पुरुषको हैकमवादी सोच, सामाजिक संरचनामा जातीय विभेद र यसले निम्त्याएका परिणतिहरू, महिलाका यौन चाहना, अतृप्ति, उच्छवास, कोरोनाको विश्वव्यापी प्रभाव, माया, प्रेम, घृणा, वैमनस्य जस्ता मानवीय संवेगलाई कथामा सरल ढंगले क्लासिक शैलीमा प्रस्तुत गरिएको छ ।

अधिकांश कथा पाठकको अनुमानविपरीत टुंग्याउने कथाकारको मौलिक शैली देखिन्छ । भाषाप्रयोग सरल, सहज र बोधगम्य हुनुका साथै पात्रअनुकूल लवज, थेगो र सन्दर्भअनुकूल परिवेशको जीवन्त चित्रण भेटिन्छ ।

ADV

सम्बन्धित खबर

Advertise