काठमाडौं : महान्यायाधिवक्ताको कार्यालयले डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महान्यायाधिवक्ताको कार्यालयले १५ र १६ फागुनमा काठमाडौंमा डिजिटल अपराध नियन्त्रण, अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियामा अन्तर्राष्ट्रिय सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको जनाएको हो ।
सम्मेलनमा नेदरल्यान्ड्स, मलेसिया, साउदी अरेबिया, सिङ्गापुर, माल्दिभ्स, दक्षिण कोरिया, अजरबैजान, भारत लगायत १३ राष्ट्रका ९० भन्दा सरकारी वकिल, कानुन विज्ञ, न्यायाधीश तथा सम्बन्धित निकायका उच्च अधिकारीहरूको सहभागिता रहने छ ।
सम्मेलनमा ४ वटा प्लेनरी सत्र, ८ वटा समानान्तर सत्रमा १६ वटा कार्यपत्रहरू उपर छलफल हुने महान्यायाधिवक्ता रमेश वडालले जानकारी दिए । उनले डिजिटल प्रविधिको माध्यमबाट गरिने अपराधहरूको विविध आयामका साथै तिनका अनुसन्धान, अभियोजन र न्यायिक निरूपणका लागि अन्य देशले अवलम्वन गरेको विधिहरूमा छलफल हुने बताए ।
डिजिटल अपराधको बढ्दो प्रभावलाई मध्यनजर गर्दै अनुसन्धानकर्ताहरू, अभियोजनकर्ताहरू, न्यायालय तथा नीति निर्माताहरूबीच समन्वयात्मक संरचना विकास गर्न जरुरी रहेको पनि महान्यायाधिवक्ता वडालले जानकारी दिए ।
डिजिटल अपराधका कारण पीडितले भोग्नुपर्ने मानसिक, सामाजिक तथा आर्थिक असरहरू दीर्घकालीन हुने भएकाले पीडित–केन्द्रित न्याय प्रणालीलाई सुदृढ गर्न जरुरी रहेको महान्यायाधिवक्ता वडालले बताए ।