काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग जेनेभामा भेटवार्ता गरेकी छिन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औं उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेकी मन्त्री डा. देउवाले बुधबार साइडलाइन भेटवार्ता गरेकी हुन् ।
भेटका अवसरमा परराष्ट्रमन्त्री डा. देउवाले नेपाल मानवअधिकारको संरक्षण र प्रवद्र्धनमा विश्वकै उदाहरणीय एवं पथप्रदर्शक राष्ट्र रहेको भन्दै सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवद्र्धनमा नेपाल प्रतिबद्ध रही आएको बताइन् ।
उनले नेपालको वर्तमान संविधानले नागरिक स्वतन्त्रताका साथै नागरिकका राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूलाई मौलिक अधिकारका रूपमा व्यवस्था गरेको जानकारी गराउँदै नेपाल सरकार लोकतान्त्रिक मूल्यमान्यता, कानूनी शासन र न्यायपालिकाको स्वतन्त्रताप्रति पूर्ण रुपमा प्रतिबद्ध रहेको स्पष्ट गरेकी थिइन् ।
मन्त्री देउवाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न संक्रमणकालीन न्यायसम्बन्धी कानुनको निर्माण गरेर नेपाल सरकार तदारुकताका साथ अघि बढेको जानकारी दिँदै संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउने प्रतिबद्धता पनि व्यक्त गरिन् ।