बैतडी : उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले शैक्षिक क्षेत्र सुधारका लागि नयाँ शिक्षा ऐन आवश्यक रहेको बताएका छन् ।
शुक्रबार नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको १८ औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले समग्र शैक्षिक क्षेत्रको विकासका लागि नयाँ शिक्षा ऐन ल्याइन लागिएको बताए ।
मन्त्री भण्डारीले भने,‘नयाँ शिक्षा ऐन चाँडै आउनेछ, सबै शिक्षकहरुका मागहरुलाई अधिकतम रुपमा सम्बोधन गर्ने र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने हिसाबले सरकारले ऐन उक्त ल्याउन लागेको हो ।’
शिक्षकहरुका तर्फबाट व्यक्त भएका मागहरुलाई ऐनले सम्बोधन गर्ने दाबी गर्दै उनले यसको लागि सरकार लागिपरेको जानकारी दिए । नयाँ आउने शिक्षा ऐनले सबै शिक्षकहरूका मागहरूलाई सम्बोधन गर्ने र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उनको दाबी छ । शिक्षकहरूका तर्फबाट व्यक्त भएका मागहरूलाई ऐनले सम्बोधन गर्ने उनले बताए ।
अहिले एमाले र कांग्रेस मिलेर राष्ट्रिय आवश्यकताका आधारमा सरकार निर्माण गरिएको मन्त्री भण्डारीको भनाइ छ । सरकारले अध्यादेशमार्फत ल्याएका कानुनहरू अहिलेको आवश्यकता भएकाले सांसदबाट पारित गर्नुपर्ने उनको तर्क छ ।
यस्तै देशको अर्थतन्त्र सुधारका लागि सबै पक्ष एक भएर अघि बढ्नुपर्नेमा मन्त्री भण्डारीको जोड छ । अर्थतन्त्रमा सुधार आएमात्रै देशका समस्या समाधान हुने भएकाले सबै क्षेत्र मिलेर जानुपर्ने उनले बताए ।
नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीका अध्यक्ष प्रेमराज भट्टको अध्यक्षतामा भएको अधिवेशनमा नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय अध्यक्ष विष्णु भण्डारी विशिष्ट अतिथि थिए । अधिवेशनले परमानन्द भट्टको अध्यक्षतामा नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको २५ सदस्यीय नयाँ नेतृत्व समेत चयन गरेको नेपाल शिक्षक संगठन बैतडीका निवर्तमान अध्यक्ष प्रेमराज भट्टले बताए ।