२०८१ फागुन २० गते मङ्गलवार / Mar 04 , 2025 , Tuesday
२०८१ फागुन २० गते मङ्गलवार
Ads

चन्द्रनिगाहपुरका १० र बर्दिबासका ५ वटा अस्पताल बन्द गर्न निर्देशन

hardik ivf
मनोज साह
२०८१ फागुन १७ गते २०:३१
चन्द्रनिगाहपुरका १० र बर्दिबासका ५ वटा अस्पताल बन्द गर्न निर्देशन

रौतहट : अवैध र अनधिकृत रूपमा सञ्चालित मधेश प्रदेशका निजी अस्पतालहरू धमाधम बन्द हुन थालेका छन् ।

प्रदेशमा निजी अस्पतालहरू अवैध तरिकाले सञ्चालित भएको पाइएपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सक्रियता जनाएपछि त्यस्ता अस्पतालहरू धमाधम बन्द हुन लागेको हो ।

रौतहटको चन्द्रनिगाहपुरमा दर्ता नभएका सिभिल र हाईवे ट्रमासहित १० वटा निजी अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।

मुख्यमन्त्री सिंहले शनिबार चन्द्रनिगाहपुरको अस्पतालहरूको अनुगमन गर्दै १० वटा निजी अस्पताल बन्द गर्न अस्पताल संचालकहरूलाइ निर्देशन दिँदै पत्र पठाएका हुन् । 

यसअघि मुख्यमन्त्री सिंहले शुक्रबार राति महोत्तरीको बर्दिबासमा अस्पतालहरूको अनुगमन गरेका थिए । अनु्गमनका क्रममा अनधिकृत रूपमा सञ्चालित ५ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिए । बर्दिबासका ८ अस्पतालको अनुगमनका क्रममा ५ वटा अनधिकृत पाइएपछि मुख्यमन्त्री सिंहले बन्द गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री सिंहसहितको टोलीले चन्द्रनिगाहपुरका ११ वटा अस्पतालको अनुगमन गरेको थियो । जसमध्ये चन्द्रपुर अस्पताल प्रालि मात्रै नियमअनुसार दर्ता भएर सञ्चालित छ । 

बन्द गराइएका अस्पतालहरूमा हाइवे ट्रमा हस्पिटल एण्ड रिर्सच सेन्टर प्रालि, सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर, पब्लिक लाइफ केयर पोलिक्लिनिक, एपोलो सिटी अस्पताल, चपुर सिटी अस्पताल, हिमालय पोली क्लिनिक चन्द्रपुर, सामुदायिक अस्पताल, नमस्ते डेन्टल क्लिनिक, चन्द्रपुर अर्थोपेडिक अस्पताल र चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्र  छन् ।

दर्ता नभएका मेडिसिटी अस्पताल महगो शुल्क लिएको तर सेवा सुविधा शून्य भएको पाइएको छ ।  बन्द गर्न निर्देशन दिइएका १० वटा अस्पताललाई प्रक्रिया पु¥याएर दर्ता गराउन मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् । 

अनुगमनको क्रममा अहिलेसम्म प्रदेशभरिकै ५७ वटा निजी अस्पतालमा मुख्यमन्त्री सिंहले अनुगमन गरिसकेका छन् । अनुगमन गरिएका अस्पतालहरूमध्ये आधा जसो अस्पताल अवैध रूपमा सञ्चालित भएको पाइएको छ ।

मुख्यमन्त्री सिंहले २१ वटा निजी अस्पताल पूर्णरूपमा अवैध भेटिएकाले तत्कालै बन्द गर्न निर्देशन दिइसकेको बताए ।  मधेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधन सिंहले दर्ता नभएका अस्पताल कुनै पनि हालतमा सञ्चालन नहुन हुने बताए ।

हाईवे ट्रमा सेन्टरमा रहेको औषधी पसल पनि दर्ता नभएको पाइएको छ ।  यस्तै हिमालय मेडिकल हल लगायतका औषधी पसलहरूलाई कागजपत्र नवीकरण गर्न ७ दिनको समय दिइएको छ ।

मुख्यमन्त्री सिंहको निर्देशन अनुसार महोत्तरीको बर्दिबासका पिनाकल हस्पिटल, सुरक्षा अर्थोपेडिक एन्ड डेन्टल क्लिनिक प्रालि, ऊँ समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर र खोमुसरा डेन्टल क्लिनिक प्रालिलाई तत्काल बन्द भएको छ । ती अस्पतालहरूले सेवा सञ्चालन अनुमति नलिएको पाइएको छ । ती अस्पतालहरूलाई कानुनी प्रक्रिया पूरा गरी अनुमति लिएपछि मात्र पुनः सञ्चालन गर्न निर्देशन पनि मुख्यमन्त्री सिंहले दिएका छन् ।

अनुगमनका क्रममा महेन्द्र डेन्टल क्लिनिक प्रालिले आवश्यक स्वीकृति लिएको पाइएको छ भने जनसेवा हस्पिटल प्रालि र डी.एन.बी. मेडिकेयर सेन्टर प्रालिलाई सेवा अनुमतिपत्र नवीकरण गर्न निर्देशन दिइएको छ ।

केही समययता निजी अस्पताल अनुगमनलाई तीव्रता दिएका मुख्यमन्त्री सिंहले मापदण्डअनुसार भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण र जनशक्ति व्यवस्थापन लगायत पुरा नगरीकनै सञ्चालनमा रहेका अस्पताल बन्द गर्न निर्देशन दिँदै आएका छन् ।
 

ADV

सम्बन्धित खबर

Advertise