२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

इटहरीमा सद्‍भावना सम्मेलन सम्पन्न

Nada
२०८१ फागुन १८ गते १२:०९
Shares
इटहरीमा सद्‍भावना सम्मेलन सम्पन्न

काठमाडौं : नेपाल मानव धर्म सेवा समितिको आयोजनामा इटहरीमा एक दिवसीय सद्‍भावना सम्मेलन–२०८१ सम्पन्न भएको छ ।

ncell

समितिले विगत ६ दशकदेखि आध्यात्मिक विज्ञान, सत्संग, तथा विभिन्न सामाजिक गतिविधिहरू मार्फत सनातन आत्मज्ञानको प्रचारप्रसार गर्दै आइरहेको छ । धर्म र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबार आयोजित सम्मेलनमा वैदिक सनातन धर्मको रक्षा गर्न आत्मा अनुभवी साधु-सन्तहरूले सत्संग तथा प्रवचन दिएका थिए ।

सम्मेलनलाई अन्तर्राष्ट्रिय आध्यात्मिक व्यक्तित्व श्री विभूजी महाराजजीले सम्बोधन गर्दै मानव जीवनमा अध्यात्मको महत्त्व तथा सद्भाव कायम राख्न आवश्यक उपायहरूबारे मार्गदर्शन प्रदान गरे । 

उनले भने, "जीवन विकासशील छ, संसार सानो बन्दै गएको छ। जसरी बाहिरी संसार खुल्दै गयो, त्यसरी नै हाम्रो मन चञ्चल बन्दै गयो ।" उनले प्रत्येक जीवनको अन्तिम लक्ष्य परमात्मासँग मिल्नु भएको बताउँदै, आत्मशक्तिको सही ज्ञान प्राप्त गरेर संसारिक बन्धनबाट मुक्त हुन सकिने उल्लेख गरे ।

उनले भक्तिमा समर्पणको महत्त्व बारे प्रकाश पार्दै भने, "मनभित्र भक्तिमा अहंकार कहिल्यै आउनु हुँदैन । जहाँ संसार छ, त्यहाँ बन्धन पनि हुन्छ । तर, आत्मज्ञानले हामीलाई त्यो बन्धनबाट मुक्त गर्न सक्छ ।"

मनको मोहलाई "महामाया" को संज्ञा दिँदै उनले भने, "महान पुरुषहरूले मनलाई स्थिर राख्न सुझाएका छन् । निरन्तर चलिरहेको स्वासमा ध्यान केन्द्रित गर्न सकेमा मन स्थिर बन्छ र उच्च अवस्था प्राप्त गर्न सकिन्छ ।"

समितिले विभूजी महाराजजीको परिकल्पनामा मिसन एजुकेशन कार्यक्रम सञ्चालन गर्दै आएको छ । सो कार्यक्रमअन्तर्गत शैक्षिक सामग्री संकलन गरी दुर्गम क्षेत्रका गरिब तथा विपन्न बालबालिकालाई वितरण गरिन्छ । हाल देशभरका विभिन्न शाखा आश्रमहरूबाट यो कार्यक्रम सञ्चालन भइरहेको छ ।

नेपाल मानव धर्म सेवा समितिको स्थापनाकाल २०४३ सालदेखि समिति आध्यात्मिक ज्ञानको प्रचारप्रसार गर्दै आइरहेको छ । हाल ९५ वटा आश्रमहरूबाट ५९ जना सन्तमहात्माहरूले ज्ञानको प्रवाह गरिरहेका छन् । साथै, समितिले रक्तदान, मन्दिर तथा अस्पताल सरसफाइ अभियान जस्ता विभिन्न सामाजिक कार्यहरूमा पनि सक्रिय भूमिका खेल्दै आएको छ ।

सम्मेलनमा नेपालका ख्यातिप्राप्त संगीतज्ञहरू, भक्तिसंगीत कलाकारहरू तथा बालसभा कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा नेपाली लोक बाजा, परम्परागत गायन, र भक्तिगीत प्रस्तुत गरिए, जसले सम्मेलनलाई झन् भक्तिमय बनायो ।

समितिले आगामी दिनमा पनि यस्ता आध्यात्मिक तथा सामाजिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर