२०८१ फागुन २२ गते बिहिवार / Mar 06 , 2025 , Thursday
२०८१ फागुन २२ गते बिहिवार
Ads

लाखौं खर्चेर छिरे, हतकडी र साङ्लोमा बाँधिएर फर्किए

hardik ivf
निमिष झा
२०८१ फागुन २२ गते ०६:२५
लाखौं खर्चेर छिरे, हतकडी र साङ्लोमा बाँधिएर फर्किए

काठमाडौं : अमेरिका अर्थात् सपनाको देश ! जीवनमा यहाँ एक पटक पुगौं भन्ने संसारभरिका मानिसको चाहना हुन्छ । तर, अवैधानिक रूपमा अमेरिका छिर्नु कति जोखिमपूर्ण हुन्छ ? त्यो दाङ घोराही– ६ का जागुलाल चौधरी (नाम परिवर्तन)लाई मात्र थाहा छ ।

मासिक ५ देखि ६ लाख रुपैयाँसम्म कमाउने लोभले अमेरिकाको धर्ती त उनले टेके तर त्यो कति दुःखदायी बन्यो, त्यसलाई व्यक्त गर्न अहिले उनीसँग शब्द छैन ।

अमेरिकामा काम गर्नका लागि बनाइएका गलत र फर्जी कागजी दस्तावेजलाई त्यहाँको सरकारले पहिचान गरिदियो अनि उनीसहित ८ जना सिधै नेपाल फर्काइए ।

विशेषगरी दाङ र रुकुम (पूर्व र पश्चिम)का यसरी अमेरिका छिर्नेहरू धेरै छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार कानुनविपरीत अमेरिका प्रवेश गर्नेमा रुकुम पहिलो र दाङ दोस्रो स्थानमा छ । त्यसरी रुकुम र दाङका अधिकांश घरका सदस्यले अवैधानिक तवरले अमेरिकाको बाटो तय गरी त्यहाँ बसोबास र काम गर्नेगरी ‘ग्रिन कार्ड’समेत हासिल गरेका गाउँलेहरू बताउँछन् । 

‘डंकी’ मार्गको प्रयोग

अमेरिका गएर राम्रो जीवन बनाउन ऋण खोजेर, घरजग्गा धितो राखर भए पनि अनिश्चित यात्रामा निस्कने नेपालीहरूको संख्या ठूलो छ । 

अमेरिका पुग्न गलत र फर्जी कागजी दस्तावेजको प्रयोग गर्नेबाहेक उनीहरूसँग अर्को विकल्प थिएन । त्यसैले, उनीहरूले रोजे ‘डंकी मार्ग’ अर्थात् तल्लो बाटो ।

तर, दुर्भाग्य ! ६ महिनासम्म हजारौं किलोमिटर पार गरेर अमेरिका पुगेका उनीहरू सीमामा पाइला टेक्न नपाउँदै पक्राउ परे । पहिलो दिन नै हिरासतमा पुर्‍याइए । जेलको अँध्यारो पर्खालभित्र महिनौंसम्म बसे । अमेरिका प्रवेशको सपना त परै जाओस्, अमेरिकी भूमिको दृश्यसमेत उनीहरूले राम्रोसँग देख्न पाएनन् ।

‘डंकी मार्ग’ प्रयोग गरेर ७ पुरुष र २ महिला जंगलैजंगल, नदीमा डुब्दै, कोलम्बिया–पानामा सीमा क्षेत्रमा पर्ने कुख्यात डेरियन ग्याप पार गरेर अमेरिका पुगे ।
डेरियन ग्याप पार गरेर अमेरिका प्रवेश गर्ने क्रममा सन् २०२१ यता १३० भन्दा बढी आप्रवासीको मृत्यु भएको छ ।

तर, अमेरिकी सीमामा पुगेको पहिलो दिन नै सीमा सुरक्षा अधिकारीहरूले उनीहरूलाई नियन्त्रणमा लिए । त्यहाँ उनीहरूलाई ५ देखि ९ महिना हिरासतमा राखेपछि बुधबार अमेरिकाको टेक्सस राज्यबाट नेपाल फर्र्काइएको हो ।

पक्राउ परेका ८ जनालाई अमेरिकी सरकारले चार्टर्ड उडानमार्फत र बाँकी १ महिलालाई व्यावसायिक उडानमार्फत नेपाल फर्काइएको हो ।
चार्टर्ड विमानबाट फर्काइएकालाई टेक्ससबाट न्युयोर्क र अल्बानिया ट्रान्जिट हुँदै नेपाल ल्याइएको हो । नेपाली सवार चार्टर्ड विमान इन्धन भर्न अल्बानियमा १ घण्टा रोकिएको थियो ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार डिपोर्ट गरिएकाहरूले अमेरिका प्रवेशका लागि ‘एजेन्ट’ भनिने मानव तस्करलाई ४० देखि ७० लाख रुपैयाँसम्म बुझाएका थिए ।

तर, उनीहरू कसैले पनि एजेन्टको नाम सार्वजनिक गर्न मानेका छैनन् । कुँवरका अनुसार डिपोर्ट गरिएकाहरू अवैध रूपमा अमेरिका छिर्न खोजेका थिए । उनीहरूलाई ट्रम्प सरकारले नभई बाइडेन सरकारकै पालामा नियन्त्रणमा लिइएको हो । तर, ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिका कारण उनीहरूको छिटो डिपोर्ट भएको हो ।

नेपाल फर्काइएका सबै ९ जनालाई सोधपुछपछि परिवारको जिम्मा लगाइएको छ । उनीहरूलाई नेपालसम्म फर्काउन ४ जना अमेरिकी प्रहरी पनि आएका थिए । 

हातमा हतकडी र खुट्टामा साङ्लो

अमेरिकी प्रशासनले उनीहरूलाई हातमा हतकडी र खुट्टामा साङ्लो लगाएर फर्काएको थियो । निष्कासनमा परेर नेपाल फर्काइएकाहरूले आफूहरूलाई जहाजमा समेत हतकडी र साङ्लो लगाएको बताएका छन् । 

डोटी घर भएकी विनिता व्यावसायिक उडानमार्फत काठमाडौं आएकी हुन् । डिपोर्टको निर्णय भएपछि आफू स्वदेश फर्किन राजी भएकाले चार्टर्ड विमानमा नपठाई व्यावसायिक उडानमार्फत आएको उनले बताइन् ।

कसरी पुगे अमेरिका ?

अमेरिकाबाट फर्काइएकाहरूमा दाङका ३ जना, रुकुमपूर्वका २ जना, रुकुमपश्चिमका २ जना, रोल्पाका १ जना र डोटीका १ जना छन् । 

फर्काइएकाहरू अमेरिकामा लामो समयदेखि डिटेन्सन ‘अफिसियल कस्टडी’मा रहेका थिए । 

काठमाडौंबाट दुबई हुँदै युरोप पुगेका उनीहरू ब्राजिल पुगेर मेक्सिको पुगेका थिए । उनीहरू मेक्सिकोबाट सीमानाका पार गरेर अमेरिका पुगेका थिए । 

प्रहरी उपरीक्षक कुँवरका अनुसार उनीहरूले प्रतिव्यक्ति ५० लाखदेखि १ करोडसम्म खर्च गरेका छन् । 

ब्राजिलमा पुगेपछि बिचौलियाले भनेअनुसार उनीहरूले पासपोर्ट फ्याँकिदिए । त्यहाँबाट कोही विमानमा र केही सडक मार्ग हुँदै मेक्सिको पुगेका थिए । ब्राजिलबाट शरणार्थी बनेर उनीहरू अमेरिका प्रवेश गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालेपछि अध्यागमन विभागले अध्यागमनको प्रक्रिया पूरा गरेर उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको थियो । ब्युरोले उनीहरूसँग सोधीखोजी गरेको छ ।

डिपोर्ट हुनेहरूमा सुष्मा, लक्ष्मण, सुकुमार, हिमाल, मोहन, टोपबहादुर, कमलप्रकाश र तीर्थबहादुर नामका छन् । उनीहरूको थप पहिचान खुलाइएको छैन ।

प्रहरीले उनीहरूसँग सोधपुछपछि गैरकानुनी रूपमा अमेरिका पठाउने मानव तस्करको र्‍याकेटसम्म पुग्ने विश्वास लिएको छ ।

५० बिचौलियाको सूची

नेपालबाट अमेरिका पठाउने ५० जना बिचौलिया सक्रिय रहेका प्रहरीले जनाएको छ । प्रहरीको मानव बेचबिखन ब्युरोले बिचौलियाहरूको सूची बनाएर उनीहरूमाथि अनुसन्धान गरिरहेको छ ।

६ वर्षमा २६२ नेपाली फर्काइए

अमेरिकाबाट पछिल्लो ६ वर्षमा २६२ जना नेपाली डिपोर्ट भएका छन् । २०७५ सालपछि २६२ जना डिपोर्ट (निष्कासन) भएर नेपाल आएका हुन् ।

यस्तै, सन् २०२१ देखि २०२४ सम्म विभिन्न देशबाट ४ हजार ९९६ जना निष्कासन भएर फिर्ता भएका छन् । सन् २०२५ को जनवरी र फेब्रुअरी महिनामा ४५० जना डिपोर्ट भएका छन् । गृह मन्त्रालयअन्तर्गत अध्यागमन विभागका अनुसार हरेक वर्ष डिपोर्ट भएर आउनेको संख्या बढ्दो क्रममा छ । 

पछिल्लो २ महिनामा विभिन्न बहानामा अमेरिका पुगेका २९ नेपाली डिपोर्ट भएका छन् । यस्तै, कोरिया, जापान, थाइल्यान्डलगायत अन्य देशबाट पनि नेपाली डिपोर्ट भएर फिर्ता भएका छन् ।  

सन् २०२१ मा विभिन्न देश पुगेका ८८० जना नेपाली डिपोर्ट भएर नेपाल फर्किएका छन् । यस्तै, सन् २०२२ मा १ हजार १६७ जना नेपाल फिर्ता भए । सन् २०२३ मा १ हजार ४४३ जना डिपोर्ट भए । सन् २०२४ मा १ हजार ५०६ फिर्ता भएका थिए । सन् २०२५ को २ महिनामा डिपोर्ट भएर फर्कनेको संख्या पनि उल्लेख्य छ । सन् २०२५ को जनवरी र फेबु्रअरीमा ४५० जना डिपोर्ट भएर नेपाल फर्किएका छन् । 

के हो डिपोर्ट ? 

कुनै पनि देशको अध्यागमन कानुन पालना नगरी बसेका विदेशीलाई उनीहरूकै देशमा फिर्ता गर्ने प्रक्रिया नै डिपोर्ट हो । डिपोर्ट गर्ने र हुने कारणहरू फरक हुन्छन् । तर, प्रायः कागजात नमिलेको, नक्कली कागजात पेस गरेको, भिसा समयभन्दा बढी बसेको तथा उक्त देशमा गैरकानुनी कार्यमा सहभागी भएको अवस्थामा जुनसुकै देशले जो कोहीलाई पनि डिपोर्ट गर्न सक्छ । 

डिपोर्ट गर्ने अधिकार त्यस देशलाई मात्र हुन्छ, जहाँ अन्य देशका नागरिकहरू आएर बसेका छन् । नेपालले पनि विदेशी नागरिकलाई डिपोर्ट गरेर स्वदेश फर्काएको छ । केही व्यक्तिहरूलाई उक्त देशको अदालतको आदेशअनुसार पनि डिपोर्ट गरिन्छ ।

ADV

सम्बन्धित खबर

Advertise