-सदानन्द अभागी
आज अध्ययन गर्दै जाँदा मेरो अघिल्तिर श्रीमद्भागवत र शिव पूराणका दुई पूराणहरू नजरमा परे । हुन त यी पहिलो पटक मेरो नजरमा परेका होइनन् । मैले कहिलेकाहीं अध्ययन गरेर त्यहाँबाट केही कथाहरू पनि पस्किसकेको छु । श्रीमद्भागवत रामप्रसाद जोशीबाट नेपाली भाषामा अनुवाद गरिएकोलाई पल्टाउन मन लाग्यो र पल्टाएँ । मेरा नजर सिधै उषा र अनिरुद्धको कथामा पर्यो ।
श्रीमद्भागवत पूराणमा मलाई यो कथा पढ्ने मन भित्रैबाट पलाएर आयो । शिव पूराण पनि पल्टाउन मन लाग्यो । शिव पूराण पल्टाउनको उद्देश्य भने उषा र अनिरुद्ध सम्बन्धमा केही लेखिएको छ कि भनेर जानकारी लिनु थियो । हेर्दै जाँदा उषाका वंशजको बारेमा केही पत्ता लाग्यो । कश्यप मुनिले दक्षप्रजापतिका १३ वटी छोरीलाई विवाहगरेका र १३ रानी मध्ये दिति जेठी श्रीमतीरहिछन् । यिनले दुई छोराको जन्म दिइन् । जेठाको नाम हिरण्य कशिपु र कान्छाको नाम हिरण्याक्ष थियो ।
हिरण्याक्षलाई विष्णु भगवानले बराह अवतारमा मार्नुभयो भने हिरण्य कशिपुलाई नृसिंहको अवतारलिएर मार्नुभयो । हिरण्य कशिपुका चारभई छोरामा प्रह्लाद कान्छ थिए ।प्रह्लाद विष्णुका भक्त थिए । उनको विरोचन नामको छोरा जन्म्यो । विरोचन पनि महादानी थिए । इन्द्रले विप्ररूप धारण गरेर विरोचनसँग उनको टाउकै माग्दा पनि सहस्र स्वीकार गर्दै टाउको नै दान दिए । विरोचनको छोराको नाम बली थियो बली शिवभक्त थिए र दानी थिए । विणुले वामानरूप धारण गरेर बलीबाट पुरा पृथ्वी नै दान लिएका थिए । उनको छोराको नाम थियो वाणासुर । वाणसुर शिवका भक्त हुन् ।
शिव पूराणमाम लेखिएको छ कि वाणसुर नामी, उदार, र बुद्धिमान सत्यप्रतिज्ञ कर्ता सहस्र दानकर्ता पनि थिए । उनले त्रिलोकाधिपतिलाई बलबाट जितेर सबैको राजधानी सोडितपुर बनाएका थिए । भनिन्छ उनको राज्यमा देवता बाहेक कोही पनि दुखित थिएन । देवताले दुःख पाउनु पर्ने कारण नै शत्रुता थियो । वाणसुरले शिवजीलाई भने निकै खुसी बनाएको थियो । ऊसँग हजार हात थिए । ऊसँग कोही लड्न अघि सर्न सक्दैनथे । एक दिन बाणासुरले हजार हातबाट ताली बजाउँदै ताण्डव नाच नाचेर शिवजीलाई निकै खुसी बनायो । देवताहरूमा वरदान दिनेमा शिवजीको नाम अग्रस्थानमा आउँछ । थोरै प्रार्थना तथा भक्ति गर्नेहरूलाई पनि ठुला ठुला वरदान दिने शिवजीले वाणसुरलाई वर माग भन्नुभयो । वाणसुरले पनि पुत्र र गण सहित मेरो र सोणितपुरको संरक्षणको लागि मसँगै बस्नुहोस भन्ने वर माग्यो । शिवजीले पनि तथास्तु भन्दै सोडितपुरमा आएर बस्न थाल्नुभयो ।
यो संसारमा जो कोही किन नहोस् ऊ धन–मत्त, बुद्धि–मत्त र बल–मत्त हुन्छ । वाणसुरमा सबै चिज थिए । बुद्धिले काम गर्न छाडो र ऊ बलकै कारणले गर्दा अति मत्त भयो । पुन उसले शिवजीलाई खुसी तुल्याउनको लागि ताण्डव नृत्य गर्यो । शिवजी खुसी हुनु भयो र शिवजीले उसका मनका धारणा सुन्ने इच्छा जाहेर गर्नुभयो । यतिवेलासम्म वाणसुरमा बलको अहमकारले ठुलो स्थान लिइसकेको थियो । उसले शिवजीसँग ‘आफ्ना हजार हात प्रयोगमा आउन सकेनन् । हजुर सिवाय अरु कुनै पुरष पनि मसँग लड्ने योग्य मानिस भेटिएन । त्यसो हुँदा यात त यी हात छिम्लिउन् या यी हातले हजारौं प्रकारका शत्रुका हात गिराउन सकियोस् । मेरो यही इच्छा छ ।’
अहमताको फल कहिल्यै राम्रो हुँदैन । शिवजीमा यस्तो वरदानको माग भएकोमा रिस उठ्यो । शिवजीले पनि वाणसुरलाई भन्नुभयो – ‘तँ महादानी बलीको पुत्र होस् । तँ अब सबै दानवभन्दा नीच मतिमा जाँदैछस् । शान्तिमय संसारको रचनाको अलवा तैले विध्वंशको बाटो अङ्गाल्दै छस् । तैले मसँग यस्तो वर माग्नु उचित होइन । तँ मेरो सबैभन्दा प्यारो भक्त हुँदा हुँदै पनि तेरा भुजा छिमलिन सकिने मानिस छ भन्न करै लाग्यो । त्यसो हुँदा तेरा भुजा छिमलिने समय आइसकेको छ । तेरो यस्तो योद्धासँग युद्ध हुने छ जस्ले एक एक गरेर तेरा भुजा छिमल्ने छ । यो युद्ध कहिले होला भन्लास तेरो शीरमा फहराएको मयुरध्वजा हावा नलागि कन खस्ने छ । यति वेला सोच्नुकी ठुलो युद्ध हुने छ र लड्नको लागि तयार हुनु ।’
शिवजीको यस्तो श्राप प्राप्त गरेको वाणसुरले निकै ठुलो वरदानको रूपमा लियो ।अहम्ताले भरिएको वाणसुरमा यसको नतिजा के निस्कने छ भन्ने उसलाई थाहै भएन । ऊ निकै खुसी भयो र शिवजीमा भव्य प्रार्थना गर्छ र फर्कन्छ । वाणसुर युद्धको लागि तयार हुन्छ । ‘मँसँग को योद्धा कुन देशबाट अउँछ र म त्योसँग लड्न पाउँछु भन्ने सोचमा ऊ पर्खिरहन्छ ।
यात पौराणिक कालमै होस् या आजको समयमा नै होस् कुनै देशको राजा होस् या कुनै मानिस नै किन नहोस् झगडा गर्न र लडाइँ गर्नको लागि तत्कालीन कारण चाहिन्छ । त्यो युद्ध गर्न पर्ने कारणमा वाणासुरकै छोरी उषा नै कारक बन्दछिन् । वाणासुरकी उषा नाम गरेकी छोरीले वैशाखको महिनामा माधवको पूजा गरेर मांगालिक शृङ्गारबाट सुसज्जित भएर आफ्नो गोप्य अन्तपुरमा सुतिरहेका समयमा उनमा स्वप्न दोष हुन्छ । कुमारी छँदैमा उनले एक दिन सपनामा परम सुन्दर अनिरुद्धसँग आफ्नो समागम भएको देख्छिन् ।
यो रोमान्समा उनी निकै आकर्षक हुन्छिन् र कराउँदै प्राणप्यारा तिमी कहाँ छौ भन्दै व्युझिइन् । पूराणमा भनिएको छ यो उषा र अनिरुद्धको मिलन पनि पार्वतीकै कृपाबाट भएको हो । स्वप्नका राजकुमारलाई कसरी भेट्ने भन्दै उनी प्रेममा विह्वल हुन्छिन् । उनका सखीहरूले उनलाई सम्झाउँछन् तर उनी कुनै हालतमा पनि सम्झिदिनन् । कुमारीत्व नष्ट भएको धारणा सखीसँग राख्छिन् । सखीहरूले स्वप्नदोषको कारणले क्मारित्व नष्ट हुँदैनभन्दा पनि उनको मनले शान्ति पाउँदैन । यो सपनाका सुन्दर व्यक्तिको बारेमा उषाले चित्रलेखालाई कसरी भेट्ने भनी बोलाउँछिन् । न नामको थाहा न ठेगानाको नै थाहा कसरी पत्ता लगाउने भनी चित्रलेखाले उषालाई सम्झाउँछिन् तर उषाले स्वप्नको चित्तचोरलाई चित्रलेखाले भेट नगराइदिए मृत्युवरण गर्ने भनेपछि चित्रलेखाले विभिन्न व्यक्तिको चित्र बनाइन् र उषालाई देखाइन् । उषाले अनिरुद्धको चित्र देखेर सपनामा देखिएका युवक यिनै हुन् भनेपछि चित्रलेखाले यी श्रकिृष्णका नाति हुन् भन्ने जानकारी हुन्छ । चित्तचोरको चित्रबाट पहिचान भएपछि सोडितपुरदेखि द्वारकामा गएर ल्याउनु पनि त्यति सहज नभएको कुरा चित्रलेखाले उषालाई भन्दछिन् । उषाले तिमी योगिनी भोगिनी भएकोले सम्मोहन अस्त्रवाट अनिरूद्धलाई मसँग पुर्याइदिनै पर्छ भनेपछि चित्रलेखा द्वारकापुरीमा पुग्छिन् र सुतिरहेका अनिरुद्धलाई योगसिद्धिको बलमा उनलाई बोकेर शोणितपुरमा लिएर आउँछिन् । गन्धर्व विवाह गरेर दुवै आनन्दमा रम्न थाल्छन् ।
उषा निकै खुसी भएर अनिरुद्धसँग विहार गर्नु र उषाले देखाएको प्रेममा परी अनिरुद्धले आफूले आफूलाइनै विर्सेका हुन्छन् । दुुईको यो समागमले गर्दा उनको शरीरले तथा चालचलनले यसलाई प्रष्ट पारिसकेको आभास हुन्छ । यो कुरा पालेले वाणासुरमा राजकुमारीलाई कसैले उपभोग गरिरहेको कुरा जाहेरी गर्छन । वाणासुर यो खबरले आश्चर्य चकितपर्छ ण्। छोरीको महलमा पुग्यो र अनिरुद्धले छोरीसँग पासा खेलिरहेको देख्यो । अनिरुद्धको बल दाँज्न दशहजार फौज पठायो । अनिरुद्धले पनि वाणासुरलाई सेना सहित आएको देखेर एउटा ठुलो परिघ लिएर उभिए । अनिरुद्धले वाणसुरका सेनालाई परास्त गर्दा वाणासुर रिसायो । ऊ आफै लड्न आयो र नागपासले बाँध्यो ।
उषा निकै रोइन् तर अरिुद्ध भने दृढ देखिन्थे । वाणसुर र रथ सहित अनिरुद्धले पल्टाई दिए पछि । वाणसुरले छल गरेर अनिरद्धलाई नाग पासले वाँध्यो र मार्न तयार भयो । अनिरुद्धलाई मार्न तयार भए पछि मन्त्री कुम्भाण्डले यसलाई मार्न नहुने मार्दा आफ्नै आत्मामा आघात पुग्छ । युद्धमा देखाएको पराक्रमको हिसावले हेर्दा यो विष्णु समान शक्तिशाली छ । हेर्दा यस्तो लाग्छ कि तपाईंसँग रिसाएर शंखचुडले यसलाई उत्तम तेजबाट बढाएको छ । सहासमा हेर्दा यसले शशीमौलिकीको समानता देखाएको छ । यसरी नागपासमा बाँधिएर पिंञ्जरामा बस्दा पनि पुरुसार्थमा नै डटेर रहेको छ र हामीलाई तृण समान सम्झिरहेको छ । राजा र मन्त्री बीच यसरी वार्तालाप भए पछि कुम्भाण्डले अनिरुद्धलाइै हार स्वीकार गर्न र क्षमा मागेपछि बन्धनबाट मुक्त भइन्छ भने । कुम्भाण्डका कुरा सुनेर अनिरुद्धले भन्दछन् कि तिमीहरूलाई क्षत्रीय धर्मको थाहा छैन । दीनता देखाएर युद्ध छाडी भाग्नुता मृत्युभन्दा पनि बढी कष्टदाइ हुन्छ । लडेर मर्नु नै उचित हुन्छ भन्दै वार्ता लाप हुँदा हुँदै आकाशबाणी हुन्छ ।
आकाशवाणीबाट वाणसुरलाई तँ बलीको छोरो होस् अलिकति विचार गरत तँ शिवजीको भक्त भएर यसरी रिसाउने होइन । तलाई थाहा छ शिव सबै प्राणीका ईश्वर हुन्रपरमेश्वर हुन् । संसार सबै उनैको अधिन छ । भगवान शिवले रजोगुण, तमो गुण,सत्त्वगुणको आश्रय लिएर ब्रह्मा, विष्णु र रुद्र रूपबाट लोकको सृष्टि, पालन पोषण र संहार गर्नुहुन्छ । शिवजी सर्व अन्तरयामी, सर्वेश्वर सबैका प्रेरक, सर्वश्रेष्ठ, विकार रहित, अविनाशी, नित्य, मायाधीस भएर पनि निर्गुण हुनुहुन्छ । यस पटक तिम्रो गर्वलाई शंकरले चकनाचुर पारिदिनुहुन्छ । त्यसो हुँदा तिमीले मनमा विचार गरेर स्वस्थ हौ । यति भनेर आकाशवाणी बन्द हुन्छ । वाणासुरले मार्ने विचार त छाड्यो तर नागपासबाट भने मुक्त गरेन । अनिरुद्धले दुर्गालाई स्मरण गर्दै नागपासबाट मुक्ति दिलाउनको लागि आउनको लागि आराधना गर्दछन् । अनिरुद्धको प्रर्थनाबाट खुसी भएर काली जेष्ठ कृष्ण चतुर्दशीको महारात्रिमा प्रकट हुन्छिन् र ती नागपासलाई ध्वस्त पार्दै आफ्नो मुड्कीको आघातबाट अलग्याई अनिरुद्धलाई बन्धन मुक्त गराएर, पुन अन्तपुरमा पुर्याएर काली अन्तर ध्यान हुनुहुन्छन र उषा अनिरुद्ध पूर्ववत विहार गर्न थाल्दछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies