२०८२ चैत ११ गते बुधवार / Mar 25 , 2026 , Wednesday
२०८२ चैत ११ गते बुधवार
Ads

राखेपले गर्‍यो एन्फालाई निलम्बन

himalayanlife
२०८२ चैत ११ गते २०:०५
Shares
राखेपले गर्‍यो एन्फालाई निलम्बन

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ । पटक–पटक दिइएको निर्देशन अवज्ञा गर्दै स्वीकृतिविना निर्वाचन प्रक्रिया अघि बढाएको निष्कर्षसहित राखेपले यस्तो कदम चालेको हो ।

राखेपको कार्यकारी समितिको मिति २०८२ चैत ११ गतेको निर्णयअनुसार राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९(२) बमोजिम एन्फालाई तीन महिनासम्मका लागि निलम्बन गरिएको हो । उक्त कानुनी व्यवस्थाअनुसार परिषद्को निर्देशन पालना नगर्ने संघलाई अधिकतम तीन महिनासम्म निलम्बन गर्न सकिने प्रावधान छ ।

राखेपले एन्फालाई यसअघि पनि साधारण सभा (अर्डिनरी कंग्रेस) र निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढाउँदा परिषद्को स्वीकृति लिन, प्रतिनिधि उपलब्ध गराउन तथा कानुनअनुसार कार्य गर्न पटक–पटक पत्राचार गरेको थियो । तर ती निर्देशनहरूको पालना नभएको निष्कर्ष राखेपले निकालेको छ ।

राखेपका अनुसार एन्फाले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र नियमावली, २०७९ तथा आफ्नै स्वीकृत विधानलाई मनोगत ढंगबाट व्याख्या गर्दै प्रक्रिया अघि बढाएको देखिएको छ । साथै, अन्तर्राष्ट्रिय संस्थाको निर्देशनलाई प्राथमिकता दिँदै राष्ट्रिय कानुनको प्रधानतालाई बेवास्ता गर्ने प्रवृत्ति देखिएको आरोपसमेत परिषद्ले लगाएको छ ।

यसअघि राखेपले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न अल्टिमेटम दिएको थियो । एन्फाले लिखित जवाफ पठाए पनि त्यो “चित्तबुझ्दो नरहेको” ठहर गर्दै अन्ततः निलम्बनको निर्णय गरिएको हो ।

सम्बन्धित खबर