
दोलखा : पछिल्लो समय निरन्तर सक्रियता र उत्कृष्ट कार्यका कारण स्थानीय जनताको प्रशंसा बटुलिरहेको दोलखा प्रहरीले फेरि एक उदाहरणीय काम गर्दै हराएको मोटरसाइकल फेला पारी सवारीधनीलाई सुरक्षित रूपमा बुझाएको छ ।
काठमाडौं बुढानिलण्ठ नगरपालिका–कृष्ण मन्दिर नजिक गत असार ३२ गते राति पार्किङ गरिएको बा.प्र.०२–०१९ प २४५४ नम्बरको कालो रङको अपाचे टिभिएस १६० सीसी (बिराज थारुको नाममा दर्ता) हराएको थियो ।
प्रहरीको निरन्तर निगरानी, छानबिन र सक्रिय अनुसन्धानका कारण यहि चैत १० गते दोलखा जिल्ला विगु गाउँपालिका–४, सिंगटी बजार क्षेत्रमा नम्बर परिवर्तन गरी लुकाइएको उक्त मोटरसाइकल फेला परेको थियो । सो मोटरसाइकल आवश्यक प्रक्रिया पूरा गरी सवारीधनीलाई सुरक्षित रूपमा बुझाएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
स्थानीयवासीहरूले दोलखा प्रहरीको यो सक्रियता र इमान्दार कार्यलाई अत्यन्त सराहना गरेका छन् । ‘पछिल्ला दिनमा दोलखा प्रहरीले देखाएको सजगता, छानबिन र जनसेवाप्रतिको प्रतिबद्धता साँच्चिकै प्रेरणादायी छ,’ एक स्थानीयले बताए ।
यस घटनाले दोलखा प्रहरीले केवल अपराध नियन्त्रणमा मात्र नभइ हराएका सामान फेला पारेर जनताको भरोसा बलियो बनाउने काममा पनि उत्कृष्टता देखाएको पुष्टि गरेको छ ।