रौतहट : रौतहटको राजपुर क्षेत्रमा भारतबाट अवैध रूपमा चोरी पैठारी गरिएको कुखुरा नियन्त्रणमा लिइएको छ । नरकटियाबाट राजपुरतर्फ अवैध रूपमा कुखुरा ल्याउँदै गरेको अवस्थामा गस्ती टोलीले कुखुरा र साइकल नियन्त्रणमा लिएको हो ।
एक साइकलमा लोड गरिएका २५ वटा कुखुरा नियन्त्रणमा लिइएको छ । कुखुरा ल्याउने व्यक्ति भने गस्ती टोली देख्ने बित्तिकै फरार रहेका थिए । चोरी पैठारी नियन्त्रण गर्न सीमा क्षेत्रका सुरक्षाकर्मीहरूलाई थप कडाइका साथ अनुगमन गर्न निर्देशन दिइएको छ । यसअघि पनि सोही क्षेत्रमा अवैध रूपमा कुखुरा तथा अन्य सामग्री चोरी पैठारी गरिँदै आएको थियो ।
नेपाल–भारत खुला सीमाका कारण चोरी पैठारी नियन्त्रण गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । भारतबाट खाद्यान्न, कुखुरा, मदिरा तथा अन्य सामग्री अवैध रूपमा नेपाल भित्रिने क्रम रोक्न सुरक्षाकर्मीहरूलाई थप सतर्क हुन आवश्यक रहेको स्थानीय व्यवसायीहरूले बताएका छन् ।