अर्घाखाँची : अर्घाखाँचीमा लागुऔषध नियन्त्रण गर्न सामूहिक प्रतिबद्धता गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा स्थानीय तहका प्रमुखहरु, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख, सरोकारवाला निकायबीच लागुऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सामुहिक प्रतिबद्धता जनाइएको हो ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जिल्लामा लागुऔषधको वर्तमान अवस्था, नियन्त्रणको प्रयास र सरोकारवालाहरुका सुझाव, अर्घाखाँचीको पछिल्लो अवस्था, शान्ति सुरक्षाका विषय समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले लागुऔषध नियन्त्रणका लागि सरोकारवाला सबैको जिम्मेवारी रहेको र यसका लागि सबै एकजुट हुनुपर्ने बताए ।
उनले जिल्लाका सबै स्थानीय तहहरुले लागुऔषध रोकथाम तथा नियन्त्रण सम्बन्धी एक/एक जना काउन्सिलरको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले लागुऔषध दुर्व्यसनीमा फसेकाहरुको लागि जिल्लामा सुधार गृहको आवश्यकता रहेकाले सबै स्थानीय सरकारहरु मिलेर सुधार गृह खोल्नका लागि नगरपालिका तयार रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध कठोर भएर नलागे जिल्लामा भयावह अवस्था आउने बताए ।
कार्यक्रममा मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराई, छत्रदेव गाउँपालिकाका उपाध्यक्ष मनि पन्थी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।