विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनताले चाहे राजतन्त्र फर्कन पनि सक्ने बताएका छन् ।
सोमबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै डा. कोइरालाले जनताले चाहे राजतन्त्र फर्कन पनि सक्ने बताएका हुन् । जनताले नै चाहेको अवस्थामा कसैको केही नलाग्ने कोइरालाले बताए । ‘जनताले चाहे राजतन्त्र फर्कन पनि सक्छ’ उनले भने ‘जनताले नै चाहेको खण्डमा हामी के गर्न सक्छौँ ?’ तर १० वर्षको अवधिमा बागमतीमा धेरै पानी बगिसेकाले तत्कालै राजतन्त्र फर्किहाल्छ भन्ने आफूलाई नलागेको उनको भनाइ छ ।
राजा फर्काउने विषयमा फ्रान्समा त अहिले पनि चर्चा भइरहेको उल्लेख गर्दै कोइरालाले भने, ‘फ्रान्समा त अझै राजा फर्काउने चर्चा भइरहन्छ भने यहाँ प्रयास हुनु अनौठो होइन ।’ राजाको बारेमा नेताहरूले बोलिरहनु जरुरी नरहेको कोइरालाले बताए । उनले जनताको आकांक्षा धेरै रहेको तर, त्यो पुरा गर्नेतर्फ दलहरू चुकेका कारण नै सडकमा जनआक्रोश देखिन थालेको धारणा राखे ।
राजनीतिक दलको कामका कारण जनतामा वितृष्णा पैदा भएकाले त्यही वितृष्णा सडकमा देखिएको कोइरालाको टिप्पणी छ ।
अहिले दलहरू त्रसित मनोभावनाबाट हिँडिरहेका कारण जताततै निषेधित क्षेत्र तोक्न थालिएको कोइरालाले बताए । तर, अहिलै डराइहाल्नु पर्ने र निषेधित क्षेत्र तोकिहाल्नु पर्ने अवस्था नरहेको उनले स्पष्ट पारे ।
कोइरालाले अहिलै आत्तिइहाल्नु पर्ने अवस्था नभए पनि सतर्क हुन भने जरुरी रहेको धारणा राखे । त्यो सतर्कता भनेको राम्रो काम गरेर जनताको मन जित्नु भएको उनले स्पष्ट पारे ।
कोइरालाले देश क्रोनिक क्यापिटलिजमबाट चलिरहेका कारण जनता धेरै आक्रोशित भएको बताए । महँगी बढ्नु, रोजगारीको अवसर सृजना हुन नसक्नु, जताततै नेता र पहुँचवालाका आफन्तहरू मात्रै भर्ती हुनुलगायतका कारणले जनतामा दलहरू प्रति नै वितृष्णा पैदा भइरहेको उनले बताए । अहिलेको सरकारले गरेको काम आफूहरूलाई नै चित्त नबुझेको कोइरालाले स्पष्ट पारे । सरकारले गर्ने नियुक्तिहरू आफ्ना मानिसलाई नै राख्न केन्द्रित रहेको कोइरालाको आरोप छ ।
गभर्नर नियुक्तिमा दुई÷चार अर्ब कै चलखेल भइरहेको चर्चा चलिरहेको भन्दै यस्ता विषय बाहिरिँदा जनता दलहरूबाटै आजित भइरहेको, दिक्क भएकाले सडकमा आक्रोश पोखिन थालेको कोइरालाले बताए । अहिले सरकारले ल्याएको अध्यादेश उचित समयमा नभएको उनको टिप्पणी छ । अध्यादेशमा राम्रै विषयहरू भए पनि प्रक्रिया ठिक नभएको कोइरालाले स्पष्ट पारे ।