काठमाडौं : सत्ताधारी नेकपा (एमाले)ले राजतन्त्र फर्काउने प्रयास सफल नहुने निष्कर्ष निकालेको छ ।
ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा सोमबार बसेको सचिवालय बैठकले राजतन्त्र फर्किन सक्ने कुनै आधार नभएको निष्कर्ष निकालेको छ । बैठकले राजसंस्था र लोकतन्त्रसँगै जान नसक्ने ठहर गरेको छ ।
मुलुकलाई अलोकतान्त्रिक दिशामा पछाडि फर्काउने प्रयास स्वीकार्य नभएको भन्दै बैठकले विशेष प्रस्ताव पारित गरेको छ । पछिल्ला दिनमा गणतन्त्र र नेपालको संविधानविपरीत भएका गतिविधिप्रति बैठकले पार्टीको ध्यानाकर्षण गराएको छ ।
बैठक पछि उपमहासचिव ज्ञवालीले भने, ‘राजतन्त्रले पटक–पटक जनताको अधिकारमाथि आक्रमण गरेकोले सर्वसत्तावादतर्फ उद्दत गर्दै राजतन्त्र र लोकतन्त्रसँगै जान सक्दैनन् भनेर गणतन्त्र स्थापना गरिएको हो । जनताको यस फैसलालाई उल्टाउने र देशलाई पश्चगामी दिशातिर फर्काउने कुनै प्रयास सफल हुँदैन ।’
उनले भने, ‘अहिले पनि वंशको आधारमा शासन गर्ने बहस आफैँमा हास्यास्पद छ । यो देशको लागि हानीकरक र निरर्थक प्रयास हो । हाम्रो पार्टी संविधान र यसले संस्थागत गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी प्रणालीको पक्षमा उभिन्छ ।’
‘केही समययता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानप्रति भइरहेका सुनियोजित घटनाक्रमप्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको छ,’ ज्ञवालीले भने, ‘लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको ७ दशक लामो बलिदानी संघर्षको परिणती हो ।’