२०८१ चैत ५ गते मङ्गलवार / Mar 18 , 2025 , Tuesday
२०८१ चैत ५ गते मङ्गलवार
Ads

भाँडभैलोमै राजावादीहरू

draupadi film
अस्मिता बम
२०८१ चैत ५ गते ०६:२५
भाँडभैलोमै राजावादीहरू

काठमाडौं : ‘तेस्रो जनआन्दोलन’ भन्दै राजा फर्काउने उद्देश्यका साथ गरिएको ‘संयुक्त जनआन्दोलन समिति’को घोषणाको विषयलाई लिएर राजावादीहरू आन्तरिक भाँडभैलोमा फसेका छन् । राप्रपाका नेता नवराज सुवेदीको संयोजकत्वमा घोषणा गरिएको समितिमा अधिकांश व्यक्तिलाई नसोधी राखेपछि उनीहरूबीच एकअर्काप्रति अविश्वासको खाडल बढेको छ ।   

राजसंस्था पुनस्र्थापनाका लागि ठूला दलहरू छिटो नवीन समझदारीमा आऊन् भन्ने उद्देश्यका साथ सुवेदीको नेतृत्वमा तेस्रो जनआन्दोलन घोषणा भएको हो । उक्त घोषणाप्रति राप्रपा र राप्रपा नेपालले समेत असहमति जनाएका छन् । 

सुवेदीको नेतृत्वको संयुक्त जनआन्दोलन समितिमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियकी अध्यक्ष अस्मिता भण्डारी, केशरबहादुर विष्ट, दुर्गा प्रसाईं, पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, रमा सिंह, रवीन्द्र मिश्र, हरिबहादुर बस्नेतलाई सदस्य राखिएको छ । उक्त समितिको सदस्य सचिव राखिएका रवीन्द्र मिश्रलाई यस विषयमा कुरा गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।   

आफूहरूलाई बिना जानकारी समितिमा राखिएको भन्दै राप्रपाका अध्यक्ष लिङ्देन, राप्रपा नेपालका अध्यक्ष थापा र सुवेदीबीच मतभेद बढेको छ । अर्का सदस्य केशरबहादुर विष्टले असन्तुष्टि जनाउँदै सदस्य नरहेको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।

त्यस्तै, सल्लाहकार बनाइएका नेपाल प्रज्ञाप्रतिष्ठानमा पूर्वउपकुलपति डा. जगमान गुरुङले समेत सल्लाहकारका लागि आफूसँग कुनै संवाद नभएको बताएका छन् । उनले भने, ‘यदि श्री ५ कै सदीक्षा हो भने नाइँ भन्न सक्दिनँ नत्र भोलिसम्ममा विचार गर्छु ।’

२०१९ सालमा पहिलो पटक राष्ट्रिय पञ्चायत सदस्य भएका सुवेदी २०४६ सालसम्म सत्ताका कुनै न कुनै पदमा निरन्तर रहेका व्यक्ति हुन् । १५ जेठ २०२४ मा पहिलो पटक अर्थ सहायकमन्त्री भएका सुवेदीले पञ्चायतकालीन सत्तामा महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका थिए ।

मन्त्रालयको नेतृत्व नपाउँदा उनी कहिले राष्ट्रिय पञ्चायतको अध्यक्ष भए भने कहिले ‘गाउँ फर्क अभियान’का मस्यौदाकार बने । कहिले राष्ट्रिय पञ्च भेला समितिका महासचिव भएका थिए ।

उनी रामेछाप जिल्लाको पहिलो पञ्चायत सभापति भएको इतिहास छ । विश्वविद्यालय अध्ययनरत रहँदा परिवर्तनको पक्षमा क्रान्तिकारी भएर निस्किएका सुवेदी पञ्चायतको सत्ता स्वाद चाखेपछि ३० वर्ष लगातार सत्ता र शक्तिमा रहेका व्यक्ति हुन् ।

पञ्चायतकालमा महत्त्वपूर्ण पद र अवसर पाएका ८६ वर्षीय सुवेदी यतिबेला पूर्वराजा ज्ञानेन्द्र शाहलाई फर्काउने योजनासहित समिति बनाएर तेस्रो जनआन्दोलनको घोषणा गरेर लागेपछि उनीमाथि चर्को आलोचना भइरहेको छ । उनको विवादित छविका कारण अरू नेताहरू समितिमा बस्न नमानेका राप्रपाका एक नेताले बताए ।

ADV

सम्बन्धित खबर

Advertise