२०८१ चैत १८ गते सोमवार / Mar 31 , 2025 , Monday
२०८१ चैत १८ गते सोमवार
Ads

सुखद प्रयास

draupadi film
मध्यान्ह
२०८१ चैत ११ गते ११:४९
सुखद प्रयास

संसद् गणितीय रूपमा जटिल बनोटका हुँदा सरकारहरू अस्थिर हुने गरेका छन् । सत्ता समीकरण निरन्तर फेरिँदो प्रकृतिको छ । २०७९ सालको आमनिर्वाचनपछि केन्द्र र प्रदेशमा धेरै पटक सत्ता समीकरण परिवर्तन भएका छन् । केन्द्रमा परिवर्तन भएसँगै प्रदेशमा पनि लगत्तै समीकरण हुने गरेका छन्, जसका कारण कुन सरकार कतिसम्म टिक्ने भन्ने अन्योल आमरूपमा पर्ने गरेको छ । केन्द्र वा प्रदेशमा धेरै दलहरूको प्रतिनिधित्व छ । तर, दल धेरै भए पनि एजेन्डागत रूपमा खास फरक प्रकृतिका छैनन् । मधेश प्रदेश केन्द्रित राजनीति गर्ने दलहरू मात्र पनि झण्डै आधा दर्जनका हुनुले अवस्था प्रस्ट्याउँछ । यदि एजेन्डागत रूपमा समान प्रकृतिका दलहरू सँगै हुने परिस्थिति बनेमा त्यसले राजनीतिलाई धेरै सरल अवस्थामा पुर्‍याउने देखिन्छ । 

यतिबेला सीके राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको तथा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी एकताका लागि छलफलमा छन् । एकताका लागि सहमत दुवै दलले बाँकी प्रक्रियालाई टुंग्याउने तयारी गरिरहेका छन् । २ दलको छलफलको अवस्थालाई हेर्दा छिट्टै पार्टी एकताले मूर्त रूप लिने देखिन्छ । यदि जनमत र नागरिक उन्मुक्तिबीच एकता भएमा राष्ट्रिय राजनीतिमा थप अर्को बलियो कित्ताको उदय हुनेमा दुविधा छैन । गणितका हिसाबले पनि २ दल मिल्दा केन्द्रमा १० सांसद पुग्छन् भने ३ प्रदेशसभामा प्रतिनिधित्वसमेत रहने छ । जनमत मधेश प्रदेशको प्रभावशाली पार्टी हो भने नागरिक उन्मुक्ति सुदूरपश्चिमको निर्णायक शक्ति हो । यस्तो अवस्थामा २ दलको संयोजन नयाँ शक्ति निर्माणका लागि एउटा इँटा हुन सक्छ । 

२ दलको सहकार्यमा नेपाल समाजवादी पार्टी (नेसपा) पनि इच्छुक देखिएको छ । नेसपाले पनि २ दलबीचको एकतापछि छलफललाई अगाडि बढाउने भनेको छ । यदि नेसपासमेत सहभागी हुने अवस्थामा त्यसको ओज थप बढ्नेमा दुविधा छैन । वर्षौंदेखिको अस्थिर राजनीतिको दुष्परिणाम हामी अविकास र बेचैनीमा अनि अशान्ति र भयमा बाँच्न विवश छौं । राजनीति क्रमशः ध्रुवीकृत हुँदै अन्ततः २ ध्रुवमा मात्र रहन सकेमा अझ बढी प्रभावकारी हुन सक्छ । राजनीतिक स्थिरता र स्थायित्वका लागि एकै पृष्ठभूमिका, विचार र नीति तथा एजेन्डाका दलहरू ध्रुवीकृत भई एकीकृत हुनु देश र जनताका लागि खुसी र सुखद विषय हो ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise