-अनुरोध शर्मा
यही बाटो हुँदै गएको थियो, ‘चाँडै आउँछु’ भनेर ।
‘नजाऊ न मलाई एक्लै छाडेर’, रुँदै भनेकी थिई उसले, ‘आखिर यहीँ बसौंला, दुःखजिलो गरेर बाँचौंला ।’
‘२ वर्ष त हो नि ! अलिकति कमाएर ल्याउँछु अनि कुनै पेसा गरौंला’, सम्झाउँदै भनेको थियो, ‘पछि सन्तानका लागि जोहो गर्नुपरेन ?’
त्यसो त सुनमायालाई पनि आफ्नो नाम जस्तै पहेंलपुर गहना लगाएर सुनपरी हुने इच्छा नभएको कहाँ हो र !
समय हो, बित्छ, जोवन जस्तै । कलकलाउँदो बैंसले कोल्टे फेर्दै गएको छ । सुनमायाका गालामा धर्सा देखिन थालेका छन्, बुढ्यौलीका होइन, उमेरका । त्यसो त उति बूढी भएकी होइन ऊ, भर्खरै पूरा गरेकी हो चालीसौं वसन्त ।
२२ वर्षकी हुँदा परदेसिएको हो लोग्ने । ओहो ! १८ वर्ष भइसकेछ । छोरो १८ वर्षको भइसक्यो, छोरीको विहे गर्ने बेला भइसक्यो । लोग्नेको अत्तोपत्तो छैन ।
खबरका नाउँमा चिठी आउँथ्यो ४ वर्षजति । ‘कतारमा छु, राम्रै छ, काम पनि कमाइ पनि’ भन्ने लेख्थ्यो चिठीमा । तर, लोग्नेको कमाइ देख्न पाएकी छैन सुनमायाले । त्यसपछि न चिठी आएको छ, न त कुनै खबर ।
एक्लैले हुर्काई २ छोरा–छोरी । कमाइ गर्ने ३ रोपनी पाखो, कोदो र आलु मात्र फल्ने । त्यसो त दिउँसो मेला जान्थी गाउँलेकहाँ, मकै, पिठो आउँथ्यो, त्यही खुवाउँथी सन्तानलाई ।
सुनमायाले लोग्नेको खोजी गरिदिन कतारमा रहेका गाउँ छिमेक र चिनजानका सबैलाई अनुरोध गरी । कसैले पनि पत्ता लगाउन सकेनन् । कसैले पनि भेटेको कुरा गरेनन् ।
अलिक जिद्दी हो कि मुडी थियो धनबहादुर । नामअनुसारको सम्पत्तिको धनीचाहिँ थिएन (धन भए किन विदेश जानुपथ्र्यो ?)। मनको चाहिँ धनी नै हो भन्नुपर्छ । जिद्दी र मुडी भए पनि सहयोगी र भावुक थियो ऊ ।
देशमा द्वन्द्व अन्त्य भएको छ, छिटपुटबाहेक । सशस्त्र द्वन्द्वरत माओवादी शान्तिपूर्ण राजनीतिमा आइसकेको छ, आइसकेको मात्र होइन, सत्ताको मह चाटिसकेको छ । भर्खरै सरकारले बेपत्ता आयोग बनाएको छ । आयोगले प्रथम चरणमा बेपत्ताको सूची प्रकाशन गरेको छ । सुनमायाले सुनी, धनबहादुरको नाम पनि त्यस सूचीमा समावेश छ ।
पत्याइन, विदेश गएको लोग्ने कसरी स्वदेशमै बेपत्ता हुन्छ ?
नपत्याएर के गर्नु ? भएछ यस्तै । हिन्दी सिनेमाझैं लागिरहेछ उसलाई ।
विदेश जान हिँडेको धनबहादुरले काठमाडौं जाँदा गाडीमा सँगै एक जना साथी भेट्टाएछ । परिचयपछि केही हार्दिकता र आत्मीयता गाँसिएछ । आफ्ना समस्या र विदेश जानुपर्नाका कारणबारे भलाकुसारी भएछ । साथीले यस्ता लक्का जवानहरू बिदेसिनु नहुने, स्वदेशमै केही गर्नुपर्ने अर्ति सुझाएछ ।
कतारमा पुगेर केही वर्ष संघर्ष गरेछ । राम्रो कम्पनी, काम पनि राम्रो र तलब सुविधा पनि राम्रो भनेर दलालले फसाएको कुरा कतार पुगेपछि मात्र चाल पाएछ उसले ।
केही समयसम्म सुकुटी बनाउने गर्मीमा मरीमरी काम गरेछ । पैसा खान र बस्न पनि धौधौ पर्नेगरी मात्र कमाइ हुने । सोचेछ, ‘आखिर यत्ति दुःख गरेर यहाँ बस्नुभन्दा त स्वदेश फर्कनु बेस । सन्तानका लागि केही जोहो होला भनेर अर्काको देशमा आएको, खै त के कमाएँ ?’
अचानक सम्झेछ, घरबाट काठमाडौं आउँदा भेटिएको साथी । मुडी मान्छे छिट्टै हौसिन्छ, छिट्टै रिसाउँछ । त्यो साथीको कुरा ठीकै लागेछ धनबहादुरलाई र स्वदेश फर्किने निधो गरेछ– रित्तो हात ।
एक दिन दिनभर धनबहादुर काठमाडौंमा त्यही साथीसँग बसेछ । साथीले राजनीतिमा लाग्न सल्लाह दिएछ । आफ्नो र परिवारको भविष्यको जिम्मा पार्टीले लिने बताएछ । क्रान्ति सफल भएमा देश र जनताको पनि हित हुने, आफूलाई पनि फाइदा हुने (राजनीतिक योगदानका आधारमा) बताएपछि धनबहादुर भर्खरै सुरु भएको माओवादी जनयुद्धमा होमिएछ ।
भूमिगत रूपमा रहेको राजनीतिक दल, जसले सशस्त्र जनयुद्धको घोषणा गरेको छ, थाहा पायो भने सरकारले सिध्याइदिन्छ । अरू त अरू, आफ्नै परिवार, भनूँ न, श्रीमतीलाई पनि जानकारी दिएनछ । विदेश गएको कुरामै विश्वस्त पारेछ ।
पार्टीमा लागेपछि पार्टीले दिएको जिम्मेवारी पूरा गर्नु कर्तव्य हो । केही समय पार्टीका औपचारिक/अनौपचारिक कार्यहरूमा सहयोगीका रूपमा काम गरेपछि सेनामा प्रवेश पाएछ– लालसेना । आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्दै आएपछि कमान्डरसम्म बनाएछ पार्टीले ।
पार्टीले दिएको जिम्मेवारी बहन गर्दागर्दै एउटा प्रहरी चौकी आक्रमणका क्रममा भएको भीडन्तपछि बेपत्ता भएछ धनबहादुर ।
सरकारले सार्वजनिक गरेको बेपत्ता नागरिकको सूचीमा उसको फोटोसहित छापिएको नाम देखेपछि कसरी नपत्याउनु ?
सुनमाया मास्तिरको बाटो देखाउँदै भन्दै छे, ‘यही बाटो हुँदै गएको थियो, चाँडै आउँछु भनेर ।’