–ओम बस्नेत
‘औ भइया, तिमी जुनसुकै टोइलेटतिर नपस्नु ल ! तिमीहरूका लागि ऊ परको पुरानो टोइलेट छ । पानी त्यही छेउको ड्रममा छ । अलिक पानी पनि हाल्ने गर्नु है ! बेसी आल्याङटल्याङ नगरी काम गर्नू । दसैंअघि नै मलाई सबै काम सक्नु छ’ भनेर वासिङ मेसिनमा लुगाहरू हाल्नुमा व्यस्त हुन्छिन् शिला । टोलमा सबले उनलाई ‘शिला आन्टी’ भनेर सम्बोधन गर्छन् ।
हैदरले ‘हवस् मेडम ! माफ गर्नुस्, गलती भयो । अबदेखि उतै गर्छु र केटाहरूलाई पनि भन्छु’ भन्दै आफ्नो काममा लाग्छ । हैदर घर बनाउने ठेकेदार हो । उसले धेरैवटा घर बनाइसकेको छ ।
४०–५० जनाजति उसका मिस्त्रीहरू छन् भिन्नाभिन्नै साइटमा । तर, उसको बोली जहिले नरम । सबलाई ‘सर’, ‘मेडम’ भन्छ । नमस्ते नगरी र नहाँसी बोल्दैन । जुनै साइटमा भए पनि ३ बजे नमाज अदा गर्छ अनि शुक्रबार मस्जिद जाने गर्छ ।
यसपालि दसैंमा मोड्युलर किचन बनाएर सबैलाई चकित पार्ने शिला आन्टीको ठूलो इच्छा छ । त्यस इच्छालाई पूरा गर्न आफ्नो पतिको ‘प्रोविडेन्ट फन्ड’ तोडफोड गराएकी हुन् ।
घर बनाउँदा बैंकको ऋणमा चुर्लुम्म डुबेको परिवार हो । किचन श्रम साधारण थियो । काम चलेकै थियो । तर, शिला भने आफ्ना साथीरूको अघि आफू के कम भन्ने अहं बोकेर बसेकी थिइन् । त्यसैअनुरूप उनले आफ्नो किचनलाई अपग्रेड गर्ने इच्छा गरेकी हुन् ।
दसैं–तिहारमा रमाइलो भयो । मोड्युलर किचनको भरपूर प्रचारप्रसार भयो । रिल्स बने, फेसबुकमा अपडेट आयो । शिलाले धेरै लाइक्स र बधाईका कमेन्टहरू हात पारेकी हुन् ।
केही दिनपछि हैदरले फोनमार्फत छोरीको बिहेमा एक दिनअघि आइदिने चुह्ले निम्तो दियो ।
उनीहरू आफ्नो गाडी लिएर पुग्छन् । सिलगडीबाट ३ घण्टा लाग्दो रहेछ । उनीहरूलाई स्वागत गर्न चोकसम्म हैदर आफैं मोटरसाइकल लिएर आएछ । ऊ अघिअघि, शिला दम्पत्ती पछिपछि ।
हैदरको घर देखेर शिला झन्डैझन्डै बेहोस भइन् । भित्र पसेपछि उसको घरको इन्टेरियर हेर्न लायकको थियो । बिहे घर भएर सजाइएको त थियो नै तर पनि घरको बनावट, बिजुलीको रंगीचंगी झुम्मर, मार्बल जडित फर्स देखेर शिलाको घाँटी सुक्ला जस्तो भयो र पानी पिएर मात्र अलिक नर्मल भइन् ।
हैदरले उसको जम्मै परिवारलाई बोलायो । उसका श्रीमती, ३ छोरा र २ बहिनी छोरीलाई पालैसँग परिचय गरायो । भोलि बिहे हुने जेठी छोरी स्नातक पढेकी रहिछ ।
‘अन्तm तपाईंको मिसेस चैं के गर्नुहुन्छ ?’, शिलाले हैदरलाई अचानक ‘तपाईं’ भनेर सम्बोधन गर्दा हैदर पनि खुसी भयो ।
‘गाउँको पञ्चायत प्रधान हो तर उसलाई नेपाली आउँदैन’ भनेर जबाफ दियो । शिला छक्क पर्दै ‘प्रधान ?’ भनेर मुख आँ... पार्दै आफ्नो श्रीमान्पट्टि हेर्छिन् ।
चिया नास्तापछि हैदरले भन्छ, ‘तपाईंहरू अहिले आराम गर्नुस्, म रुम दिखाइदिन्छु । खाना खाने टाइममा बुलाउँछु ।’ यति भनेर छोरालाई ब्यागहरू गाडीबाट निकालेर रुममा पुर्याउने आदेश दिन्छ ।
अट्याच्ड बाथ भएको कमरा, इंग्लिस कमोट, किंग साइज्ड बेड, बालकोनी, इनबिल्ट वार्डरोब, रेशमी मछडदानी, कमराको रङसँग सुहाउने पर्दा । कुनै लक्जरी होटलको डिलक्स रुम जस्तो । यो देखेर शिला हैरान हुँदै पतिलाई भन्छिन्, ‘आम्मा मा मा ... यो भइयाले त हाम्रो पहाडबाट कति चैं पैसा कमाएर ल्याएछ नि !’
‘हेर शिला, उनीहरू पहाडतिर सिर्फ कमाउन मात्र गएका हुन् । सानो भएर, नम्र भएर बोल्छन् । हाम्रो हेपाइ र होच्याइको जबाफको बदला हाम्रोबाट भरमग्दुर पैसा कमाएर ल्याउँछन् । हामी बाँकी गरेर भए पनि देखाउन चाहन्छौं, उनीहरू कमाएर पनि देखाउँदैनन् । मलाई यो सब पहिल्यैदेखि थाहा थियो । उसकी श्रीमतीले पञ्चायत चुनाव लड्नुभन्दा अघि मैले नै ठूलो काम दिलाएको थिएँ । उसकी श्रीमतीको जीत हुँदा मलाई बोलाएको थियो । म आएकै हो पहिला पनि तर यो कुरा मैले तिमीलाई बताएको थिइनँ । तिमीलाई देखाउन चाहेको थिएँ । जुन घर र तिम्रो मोड्युलर किचनमा तिमी अहं गछ्र्यौ नि, त्यो उसकोमा २–४ वर्षअघिबाटै छ तर मेरो घर यस्तो छ, उस्तो छ भनेर कहिल्यै भन्दैन । २–४ बिघा जमिन छ उसको तर कहिल्यै बेच्ने कुरा गर्दैन । हाम्रोतिर दुःख गर्नु आउँछ तर आफ्नो जमिन र अस्तित्वमा आँच आउँन दिँदैन । बाँकी कÞुरा आफैं बुझ्नु अहिले उसको मोड्युलर किचन हेरेर ।’
शिला दंग पर्दै, ‘उसकोमा पनि मोड्युलर किचन छ र... ?’