–जनक बराल
सिजन खनाल पोखराको नजिकैको सानो गाउँ पुम्दीमा हुर्किएको थियो । माटोका गन्धमा उसको बाल्यकाल र रमाइला सम्झनाहरू गाढा भएर बसेका थिए । आमाले बिहानै उठाएर गाई दुहाउन पठाउने, बुबाले खेतमा खटाउँदा थाकेर आउँदा दिउँसोको घाममा राँको जलाएर पढ्न लगाउने ती दिनहरू उसलाई अझै झलझली याद आउँछन् ।
त्यो गाउँमा सपनाहरू सस्ता थिए, तर पूरा गर्न भने निकै महँगो पथ्र्यो । सिजनको सपना थियो– पढेर केही बन्ने । स्कुले पढाइको साथसाथै बारीमा काम, घरका जिम्मेवारी, भाइबहिनीको हेरचाह... सबै उसकै काँधमा थियो । कक्षा १२ सकेसँगै सिजन केही बन्ने सपना बोकेर पोखरा छोड्यो । केन्द्रीय राजधानी काठमाडौंतिर लाग्यो ।
काठमाडौंमा जीवन सजिलो थिएन । कोठा भाडा तिर्नु, कलेज पढ्नु अनि अन्य खर्चका लागि जोहो गर्नु सिजनका लागि सामान्य थिएन । संयोग भन्नुपर्छ, साथी संगतबाट तत्कालका लागि समाधान भयो । सोह्रखुट्टेमा एउटा सस्तो कोठा भेट्यो । सँगै, केही सानो रकम आउने काम पनि । सिजनलाई काठमाडौं आएसँगै यी सबै कुरामा बालसखादेखिको दौँतरी कृष्णले सघाएको थियो ।
काठमाडौंको बसाई बिहान पढ्न आर आर कलेज जान्थ्यो, दिउँसो काम गर्न भोटाहिटीस्थित एक पुस्तक पसल जान्थ्यो, राति फर्केर फेरि पढ्थ्यो । ऊ थाक्थ्यो, तर भित्र कतै एक आगो बल्थ्यो– केही गरौँ, केही बनौँ भन्ने ।
पढाइको बिचमा उसले लोकसेवा पनि तयारी गर्न थाल्यो । साथीहरू रमाइलोमा रमाइरहेका बेला ऊ किताबको चिहान बनिरहेको हुन्थ्यो । अन्ततः त्यो मेहनत सफल भयो । ऊ लोकसेवाबाट सुब्बा पदमा नाम निकाल्न सफल भयो । घरमा खुसीयालीको लहर आयो । आमाले भाकल गरेकी थिइन्, सिजनले जागिर खाएपछि देउराली मन्दिरमा बलि चढाउने ।
सरकारी जागिर पाएपछि सिजनको जीवनमा स्थायित्वको अनुभव भयो । मासिक तलब आउँथ्यो, घर खर्च पठाउन सक्थ्यो । गाउँलेहरू गर्व गर्थे– हाम्रो सिजन त अफिसर पो भयो ।
तर, त्यसैबेला उसको जीवनमा अर्को मोड आयो । उसँगै पढ्ने र पछि पोर्चुगल पुगेका एकजना पुराना साथी नविनले प्रस्ताव राखे– ब्रो, त्यहाँ के थोरैको जागिर खाएर जीवन बिर्गाछस् ? यता आइज, राम्रै कमाइ हुन्छ, म होटेलमा छु, तेरो लागि काम मिलाइहाल्छु ।
सिजनको मन दोधारमा प¥यो । घर परिवार, जागिर, सम्मान... सबै एकातिर थिए । तर, विदेश जाने मोह, साथीका कुराले उकासिएको आशा... त्यो पनि त अर्कोतिर थियो । लामो दुबिधापछि उसले जागिर छाड्यो । कागजपत्र तयार पार्यो र पोर्चुगलतिर उड्यो ।
यद्यपि, सिजनका लागि त्यो निर्णय जीवनकै सबैभन्दा कठिन मोड बन्यो ।
तर, नविनले सुनाए झैँ, पोर्चुगलको सुरुवाती समय सपनाजस्तो थिएन । भाषा नआउने, संस्कृति फरक, न कोही आफन्त, न नै सहानुभूति दिने । सुरुका दिन ऊ बारमा ग्लास माझ्थ्यो । चिसो पानी, कठोर हाकिम, लामो ड्युटी... कहिलेकाहीँ उसको आँखा आफै रसाउँथ्यो ।
तर, समयले सबै कुरा सिकाउँछ । उसले पोर्चुगाली भाषा बोल्न सिक्यो । होटलको भान्सामा सहायक बन्यो । केही समयपछि स्थायी काम पनि पायो । तलब राम्रै भयो । उसले काठमाडौंभन्दा धेरै कमाउन थाल्यो ।
जीवनमा केही बदलाव आयो । बसाइदेखि सबै कुरा मिलायो । सँगै, पिआरको प्रक्रिया पनि छिट्टै अगाडि बढायो ।
तर, समयसँगै यी सबैले मन भर्न सकेन ।
उसको सपनामा बारम्बार गाउँको बाटो आउन थाल्यो । उस्तै हरियो डाँडा, आमाको मुस्कान, साथीहरूको हाँसो... रातको निद्रामा झ(ल्किने ती दृश्यले उसलाई घर तान्थ्यो । चाडपर्व आउँथे, ऊ फेसबुकमा साथीहरूका फोटो हेरेर मात्र चित्त बुझाउँथ्यो ।
एक दिन उसले आमासँग भिडियो कल ग¥यो । आमाले भनिन्, “बुबा दुई सातादेखि ओछ्यानमा हुनुहुन्छ, अस्पताल लगेको अझै सन्चो भएको छैन, खाली सिजनलाई बोलाउन पाए हुन्थ्यो भन्नुहुन्छ ।” सिजनको आँखा रसायो । ऊ त्यसबेला बुझ्यो– यो पनि जीवन होइन रहेछ ।
तर परिबन्धले ऊ फर्किन सक्दैन थियो । ऋण तिर्न बाँकी थियो । कागजपत्र अझै स्थायी थिएन । फर्किए भने फेरि न घाट न पाट हुने डर थियो । यतै बस्न बाध्य भयो ।
एक दिन साथीहरूसँग बग्ने ट्यागस नजिकको खोलातिर गएका बेला उसले भन्यो, “हेर यार, कमाइ त राम्रो छ तर मनमा खुसी छैन । कहिलेकाहीँ लाग्छ, सुब्बाको जागिर नै ठीक थियो । जीवन सजिलो थिएन, तर मन खाली थिएन ।”
साथीले हाँस्दै भन्यो, “त्यही त हो नि, जीवनमा खुसी भेटिन गाह्रो रहेछ ।”
त्यस दिनदेखि सिजनले जीवनलाई अलि सहज रूपमा लिन सिक्यो । सानो रमाइलो, केही नयाँ अनुभव र देशको झझल्को बोकेर बाँच्न थालेको छ ऊ । कहिले फर्किन्छ ? उसलाई पनि थाहा छैन ।
कहिलेकाहीँ रातको ड्युटी सकेर ऊ होटलको पछाडि रहेको पार्कमा बसेर गहिरो सास फेथ्र्यो । ‘खुसी’ भन्ने शब्दको अर्थ के हो ? पैसा कमाउनु ? राम्रो खाना खानु ? कि घरको आँगनमा आमाको हातको गुन्द्रुक खानु ? सिजनको मनमा यस्ता प्रश्नहरू उब्जिन्थे ।
फेसबुकमा गाउँका साथीहरूले रोटे पिङको भिडियो पोस्ट गरे । उसले त्यो हेरेर फोनको स्क्रिन अँगाल्यो । त्यो क्षणमा, ऊ लाखौँ किलोमिटर टाढा भएर पनि घरको आँगनमा भएको अनुभूति गरिरहेको थियो ।
एक दिन, उसले पोस्टकार्ड किन्यो । धेरै समयपछि कलम चलायो ।
“आमा,
म यहाँ ठिकै छु । पैसा त कमाइरहेकै छु, तर तपाईंको काखभन्दा म यहाँ धेरै टाढा छु । कहिले काहीँ त लाग्छ, मैले खुसी खोज्न आफूलाई नै हराएँ जस्तो छ ।”
त्यो चिठी पठाएपछि उसलाई हल्का अनुभव भयो । जीवन सजिलो थिएन, तर त्यो मनभित्रको पीडा साट्न सकेको थियो ।
तर, उसको मन भने अझै पोखरा नजिकैको पुम्दीको गोरेटोमा हराइरहेको छ ।