डोल्पा : विश्वकै अग्लो मानव बस्ती मानिने डोल्पाको छार्काभोटमा पहिलोपटक बोलेरो जिप पुगेको छ । गण्डकी करिडोर हुँदै मुस्ताङबाट दुई वटा जिप सोमबार माथिल्लो डोल्पामा पर्ने छार्का ताङसोङ गाउँपालिकाको छार्काभोटमा पुगेका हुन् ।
समुद्र सतहदेखि ४ हजार ३ सय मिटरको उचाइमा अवस्थित छार्काभोटमा मोटर गाडी पुगेको यो पहिलोपटक हो । डोल्पा र मुस्ताङ जोड्ने पक्की पुल निर्माणपछि जिप त्यहाँ पुग्न सम्भव भएको हो । स्थानीय कार्मासम्बेल गुरुङका अनुसार मुस्ताङबाट डोल्पासम्मका कठिन बाटोहरूमा डोजरको सहायताले जिप तानेर ल्याइएको थियो । उनले भने, “जसरी पनि चालकले दुई वटा बोलेरो जिप छार्काभोट पुर्याए, यसले हामीलाई अत्यन्तै खुसी बनाएको छ। अब पोखरा वा काठमाडौं जान सहज हुनेछ।”
स्थानीयवासीहरू उत्साहित देखिए पनि सडक अवस्था स्थायी र भरपर्दो भने छैन । भेरी करिडोरअन्तर्गत चीनको मरिम्ला नाकादेखि भारतको जमुनाहा नाका जोड्ने ४ सय किलोमिटर सडक निर्माणको काम अझै सम्पन्न हुन सकेको छैन । त्यसै कारण माथिल्लो डोल्पाका तीन स्थानीय तहका बासिन्दाहरू अझै पनि यातायात सञ्जालबाट वञ्चित छन् ।
डोल्पाको सदरमुकाम दुनैदेखि माथिल्लो डोल्पालाई जोड्ने दुनै–ल्यासिक्याप सडकको काम अधुरो छ । ल्यासिक्यापदेखि सिशौलसम्मको ३३ किलोमिटर सडक कडा चट्टान भएकाले निर्माण सुरु हुन सकेको छैन । उक्त सडकखण्डको निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रतिनिधिसभा सदस्य एवं पूर्वशहरी विकास मन्त्री धनबहादुर बुढाले जानकारी दिए ।
बुढाका अनुसार दुनै–ल्यासिक्याप सडकको काम भइरहेको छ र छिट्टै दुनै–धो–मरिम्ला सडक ट्रयाक पनि जोडिनेछ । यद्यपि मुख्य सडक अझै नजोडिए पनि माथिल्लो डोल्पाका तीन वटै स्थानीय तहहरूमा आन्तरिक सडक ट्रयाक खुलिसकेका छन् । चिनियाँ नाका मरिम्लाबाट सुरु भएर डोल्पासम्मका ट्रयाकमा हालसम्म १ हजारभन्दा बढी मोटरसाइकल चलिरहेका छन् ।
शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेमावाङछेन गुरुङले भने, “छार्काभोटमा जिप भेरी करिडोरमार्फत पुग्नुपर्ने हो, तर गण्डकी करिडोरमार्फत पुगेको भए पनि यो सुखद कुरा हो । अब भेरी करिडोरको कामलाई तीव्रता दिन आवश्यक छ ।”