-आचार्य प्रभा
आर्यघाटमा निर्मलाको मौनता देखेर सबै छक्क परिरहेका थिए । अलिक पर अर्की महिला निकै भावविह्वल बनेर रोइरहेकी देखेर केहीले भन्दै थिए, ‘त्यो महिलाचाहिँ किन विह्वल बनेर रुँदै छे ? को रै’छे त्यो मर्नेको ?’
‘निर्मला पो कति निर्दयी नि ? लोग्नेको मरणमा एक थोपा आँसुसम्म झारिन ।’
अर्कीले थपी, ‘उहिलेका नारीहरू जस्ता आजकलका कहाँ रुन्छन् र ? समय नै बदलिएको छ । नारीको मन पनि कठोर बनेको छ अचेल ।’उता,
चुरा, पोते फुकाल्ने, सिन्दूर पखाल्ने कार्य सुरु भयो । तब पनि निर्मलाको आँखामा आँसु देखिएन । तर, ऊ नजिकै ती अर्की महिलाको पनि जब चुरा, पोते निकालियो, सिन्दूर पखालियो, तब निर्मलाको मौनता र आँखा नरसाउनुको कारण एउटीले भनीहाली ।
‘ए, निर्मलाको त सिउँदोको सिन्दूर उहिल्यै खोसिएको रहेछ । आँखाहरू पनि पहिला नै रोइसकेका रहेछन् अनि कहाँबाट झरोस् त आँसु ? कठै ! धन्न ! खपेर बसेकी । बुढा जिउँदै हुँदा नै विधुवी समान भएकी रहिछन् ।’
लासमा आगो लगाइयो तब निर्मलाले एक घुट्को आँसु पिएर चितामा हेरिरही ।