२०८२ वैशाख १५ गते सोमवार / Apr 28 , 2025 , Monday
२०८२ वैशाख १५ गते सोमवार
Ads

१४ वर्षीय बालकको गोली हानी हत्या, चार जना पक्राउ

सत्येन्द्र प्रताप सिंह
२०८२ वैशाख १४ गते २१:५३
१४ वर्षीय बालकको गोली हानी हत्या, चार जना पक्राउ

रौतहट : रौतहट उत्तरी भेगमा रहेका वृन्दावन नगरपालिका वडा नं.७ का १४ वर्षीय कृष्ण प्रसाद यादवको शव चाँदी खोलामा विभत्स अवस्थामा फेला परेको छ । घरबाट मोटरसाइकल लिएर निस्केका यादवको गोली हानी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

यादव यहि वैशाख ६ गते दिउँसो ४ बजेतिर बि आर ०५ डब्लु ०१३७ नम्बरको मोटरसाइकल लिएर घरबाट निस्किएका थिए । सोही दिनदेखि उनी सम्पर्कविहीन भएपछि परिवारले वैशाख ९ गते ईलाका प्रहरी कार्यालय गरुडाको महिला सेलमा हराइरहेका सम्बन्धी निवेदन दिएका थिए ।

लगातार खोजतलासका क्रममा वैशाख ११ गते गरुडा नगरपालिका वडा नं ८ स्थित चाँदी खोलामा यादवको शव फेला परेको थियो । 

शवको छाती र पेटमा गोली लागेको, घाँटी काटिएको जस्तो देखिने, पेटबाट भित्री अंगहरु बाहिरिएको तथा टाउकोको भाग कुहिएको अवस्थामा फेला परेको थियो । 

यस घटनापछि ईलाका प्रहरी कार्यालय गरुडाले अनुसन्धानलाई तीव्र बनाएको छ । अनुसन्धानका क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेका छ ।

पक्राउ पर्नेहरूमा मुख्य अभियुक्त २५ वर्षीय नागेन्द्र सहनी, सहायक अभियुक्त २२ वर्षीय साधु भन्ने नागेन्द्र सहनी, मृतकको मोटरसाइकल ५ हजारमा किनेर ग्यारेजमा लुकाउने गौर नगरपालिका वडा नं ४ का विकाश पटेल र ग्यारेज संचालक अनिल साह रहेका छन् । प्रहरीका अनुसार, मृतक र अभियुक्त पक्षबीच लामो समयदेखि रिसिबी रहेको खुलेको छ । 

तीन वर्षअघि अभियुक्त नागेन्द्र सहनीका भतिजी मृतक यादवका बुबाको इँटा भट्टामा डुबेर मृत्यु भएको थियो । यस घटनापछि दुवै परिवारबीच तनाव चर्किएको थियो । त्यस्तै, मृतकका बुबामाथि अपहरण गरेको अभियोगमा नागेन्द्र सहनीका दाजु धर्मेन्द्र सहनीमाथि मुद्दा चलेको र उनी हालसम्म फरार रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । 

अनुसन्धानका क्रममा वैशाख ६ गते अभियुक्तहरूले कृष्ण यादवलाई फोन गरेर चाँदी खोलाको नजिक बोलाएका थिए । गढीमाई मन्दिर नजिक पुग्दा उनीहरूले कृष्णलाई नियन्त्रणमा लिइ मोबाइल खोसेका र मोटरसाइकलमा तीनै जना सवार भइ चाँदी खोलातर्फ लगेका थिए । खोलामा पुगेपछि साधु भनिने नागेन्द्रले कृष्णलाई धकेली लडाएको र मुख्य अभियुक्त नागेन्द्र सहनीले छातीमा दुई राउन्ड गोली हानेर हत्या गरेको अनुसन्धानमा खुलेको छ । 

हत्या गरेपछि अभियुक्तहरूले मृतककै मोटरसाइकलमा घटनास्थलबाट भागेर नागेन्द्र सहनीको बहिनी ज्वाइँको घरमा पेस्तोल र मोटरसाइकल लुकाएका थिए । अर्को दिन बिहान मोटरसाइकल विकास पटेललाई बिक्री गरी मोटरसाइकल ग्यारेजमा लुकाइएको थियो । प्रहरीले घटनामा प्रयोग भएको कटुवा पेस्तोल र मृतकको मोटरसाइकल बरामद गरेको छ । ग्यारेज संञ्चालक अनिल साहले मोटरसाइकल टुक्रा पारेको समेत खुलेको छ । हाल अन्य शंकास्पद व्यक्तिहरूको पहिचान र खोजतलास कार्य जारी रहेको प्रहरीले बताएको छ । 

प्रहरीले प्रारम्भिक अनुसन्धान पश्चात ज्यान सम्बन्धी मुद्दा दर्ता गरेको छ ।  पक्राउ परेकाहरुलाई अदालतबाट म्याद थप अनुमती लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूलाई पनि चाँडै नियन्त्रणमा लिने प्रहरीको दाबी छ । 

ADV

सम्बन्धित खबर