रौतहट : मधेश प्रदेशका २ जिल्ला सर्लाही तथा रौतहटमा अवैध क्रसर उद्योगहरु खुलेआम संचालनमा रहेको पाइएको छ । सुरक्षा संयन्त्रकै मिलोमतोमा दुबै जिल्लामा अवैध क्रसर उद्योगहरु संचालन रहेको आरोप समेत लाग्ने गरेको छ ।
सर्लाहीको बागमती नदीमा नियम विपरीत अवैध क्रसर उद्योगहरु संचालनमा रहेको पाइएपनि सुरक्षा संयन्त्र, नियमनकारी निकाय भने मौन छ । बागमती नदीबाट गिट्टीबालुवा माफियाहरूले मेसिनहरु प्रयोग गरी चरम दोहन गरिरहेका छन् । रौतहटको चन्द्रपुर, वृन्दावन तथा गढीमाई नगरपालिकामा बागमती नदीमा चरम दोहन भइरहेको छ ।
जिल्लाका उत्तरी भेगमा पर्ने चन्द्रपुर नगरपालिकाले नदीजन्य पदार्थ उठाउनको लागि आवश्यक मापदण्डहरु पूरा गरेको छैन । खोला उत्खननको लागि उक्त नगरपालिकाले इन्सियल इन्भारमेन्ट एक्जामिनेसन आइइइ समेत नगरेको पाइएको छ ।
नगरपालिकाले नदीजन्य पदार्थलाई उत्खननको ठेक्का समेत नलगाएको अवस्थामा खोलामै एक्स्काभेटर लगाएर दोहन गराइरहेका छन् । बागमती नदीबाट हरेक दिन टिप्पर र ट्याक्टरमा नदीजन्य पदार्थको उत्खनन भइरहेको स्थानीयहरु बताउँछन् ।
स्थानीय जनप्रतिनिधिहरुले खोलाको अवैध दोहनलाई रोक्न आवाज उठाइरहँदा पनि उनीहरुको आवाजलाई बेवास्ता गरिएको छ ।
यसै विषयमा प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिनाले सम्बन्धित निकायको उदासिनताको कारण अहिले खोलाहरुमा व्यापक दोहन भइरहेको बताए । उनले अवैध उत्खननलाई तत्काल रोक्नुपर्ने बताए ।
सांसद तिमल्सिनाले भने, ‘मैले पटक–पटक प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर भनेको छु, तर खासै ध्यान नदिएको कारण यस्तो अवस्था सृजित भएको हो ।’
गढीमाई नगरपालिका २ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले नगरपालिकाले भविष्यको ख्याल नगरी आफ्नो वडातिरको नदीको गिट्टी र बालुवा बेचेको भन्दै विरोध जनाए । खेती, गाउँ र किसानको वास्ता नगरी नगरपालिकाले जथाभावी ठेक्का दिएकोमा श्रेष्ठले गम्भीर आपत्ती जनाए ।
समनपुर–टोकार घाटमा बागमतीको मूल धारबाटै गिट्टी उत्खनन भइरहँदा सबै पक्ष मौन रहेका छन् । वृन्दावन र गढीमाई नगरपालिकामा नगरप्रमुखले स्थानीय प्रहरी प्रशासनलाई सेटिङमा मिलाएर अवैध उत्खनन गरी खोलालाई व्यापक दोहन गरिरहेको स्थानीयहरुले बताएका छन् ।
खोला अनुगमन एवं नियमनकारी निकायका प्रमुख एवं जिल्ला समन्वय समितिका सभापति रामअयोध्या यादवले भने, ‘अब आफू एक्लै अनुगमन गरेर हुँदैन्, समितिका पदाधिकारीहरुसँग जानुपर्छ, तर उहाँहरु वास्ता गर्नुहुन्न के गर्ने ? ।’
यसैगरी सर्लाहीमा पनि क्रसर माफियाहरूले खोला उत्खनन गरेर अवैध मोबाइल क्रसर र स्वामित्व नभएको अवैध क्रसर संचालनमा रहेको पाइएको छ ।
सर्लाहीको बसबरिया गाउँपालिका १ मानपुर टोलमा अवस्थित भैसासुरघाटस्थित बागमती नदीमा कानुन विपरित तीन वटा अवैध मोबाइल क्रसर संचालनमा रहेका छन् ।
रौतहट र सर्लाहीको खोला नदीहरुबाट अवैध रुपमा उत्खनन गरी व्यापक दोहन भएर खोलाको धार परिवर्तन हुने अवस्थामा पुगेको छ । तर नियन्त्रण गर्न स्थानीय प्रहरी प्रशासनका पदाधिकारीहरु मौन रहँदा कतै मिलेमतो हो की भन्ने आंशका समेत पैदा भएको छ ।