संखुवासभा : विश्व वातावरण दिवसको अवसरमा संखुवासभामा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
निर्माणधीन अरुण ३ जलविद्युत आयोजनाको निर्माण कम्पनी एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीले तुम्लिङटारस्थित मुख्य कार्यालय र विभिन्न साइट कार्यालयहरुमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा अरुण ३ का मुख्य कार्यकारी अधिकारी राकेश सहेगलले पर्यावरण स्वच्छ राख्न एवं प्लाष्टिक प्रयोग घटाई वातावरण स्वच्छ राख्न आयोजना क्षेत्र, समुदाय तथा विद्यालयसम्म सचेतना फैलाउन आह्वान गरे ।
कम्पनीमा कार्यरत करिब ३ सय कर्मचारीहरुबीच हाजिरी जवाफ प्रतियोगिता, चित्रकला प्रतियोगिता जस्ता कार्यक्रमहरु संचालन गरिएको थियो ।
उत्कृष्ट प्रतियोगीहरुलाइ वातावारण मैत्री पुरस्कार वितरण गरिएको कम्पनीका बरिष्ठ प्रबन्धक अजय बर्माले जानकारी दिए । कार्यक्रममा कम्पनीमा कार्यरत कर्मचारीहरुलाई २ सय वटा इन्डोर प्लान्ट तथा वातावरण दिवसको नारा लिखित ३ सय थान कप समेत वितरण गरिएको थियो ।
घर, कार्यालय तथा समुदाय तहमा वातावरणमैत्री क्रियाकलाप गर्न अभिप्रेरित गर्नका लागि कम्पनीका उपमहाप्रबन्धक सुरेन्द्र शर्माले कर्मचारीहरुलाई शपथ ग्रहण गराएका थिए । अरुण ३ पावर डेभलपमेन्ट कम्पनीले विगतदेखि नै विश्व वातावरण दिवसको अवसरमा कम्पनीको मुख्य कार्यालयसहित ड्याम साइट, पावर हाउस लगायत ४ सय केभी प्रसारण लाइन हेर्ने ७ जिल्लाहरुमा रहेका साइट कार्यालयहरुमा समेत विभिन्न सचेतनामूलक कार्यक्रमहरु आयोजना गरेको छ ।