जुम्ला : पछिल्लो समय जुम्लामा लागुऔषधको प्रयोग र ओसारपसारमा तीव्र वृद्धि भएपछि प्रशासन र सुरक्षासंस्थाहरू सचेतनामूलक अभियानमा सक्रिय भएका छन् ।
पातारासी गाउँपालिकामा अभिभावक र सरोकारवालासँगको छलफलमा सहभागी हुँदै जुम्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले लागुऔषध दुर्व्यसनबाट बालबालिका र युवापुस्तालाई जोगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार अभिभावकहरूलाई लागुऔषधको असर, जोखिम र रोकथामका उपायहरूबारे प्रत्यक्ष रूपमा जानकारी दिइएको हो ।
प्रजिअ शाहीले जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीले राख्ने गुनासोहरूमाथि पनि प्रशिक्षण दिइएको बताए । “कार्यालय सेवा ढिला, एकै कामका लागि पटक–पटक धाउनुपर्ने र कर्मचारीको व्यवहारमा सुधार आवश्यक भन्ने जनगुनासोलाई गम्भीरतापूर्वक लिइएको छ,” उनले भने । सेवा प्रवाहलाई सरल, छरितो र प्रभावकारी बनाउन डिजिटल प्रणालीमा जोड दिनुपर्नेमा पनि उनले सरोकारवालाको ध्यानाकर्षण गराए ।
यता, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन बाबु रेग्मीका अनुसार ग्रामीण क्षेत्रहरूमा लागुऔषधको प्रयोग र वितरण उच्च जोखिममा रहेको छ । “अभिभावक, विद्यालय र समुदायसँग सहकार्य गर्दै हामी सचेतनामूलक अभियान अघि बढाइरहेका छौं,” उनले भने ।
डीएसपी रेग्मीका अनुसार विद्यालयहरूमा पुगेर छात्र–छात्रा र शिक्षकलाई लागुऔषधका असरबारे जानकारी दिइँदैछ । उनले किशोर र युवा वर्ग सबैभन्दा बढी प्रभावित भएको बताउँदै, घरमै बालबालिकाको व्यवहार, साथीसँगको संगत र गतिविधिमा अभिभावकले निगरानी राख्नुपर्नेमा जोड दिए ।
“हामीले निगरानी, धरपकड र कानुनी कारबाही त गरिरहेका छौं,” रेग्मीले भने, “तर, बच्चाहरू कुन वातावरणमा हुर्किरहेका छन् भन्ने कुरा बुझ्ने जिम्मेवारी भने अभिभावककै हो ।”
सुरक्षा निकायले साइबर अपराध र अनलाइन ठगीसम्बन्धी चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । कार्यक्रममा सहभागी अभिभावक र सरोकारवालाहरूले लागुऔषधविरुद्ध सामूहिक अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।