२०८२ जेठ ३० गते शुक्रवार / Jun 13 , 2025 , Friday
२०८२ जेठ ३० गते शुक्रवार
Ads

रौतहटमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

कृष्ण तिवारी
२०८२ जेठ २८ गते २०:२०
रौतहटमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

रौतहट : मधेश प्रदेशका विभिन्न जिल्लामा केही दिनयता अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित बनेको छ । रौतहटमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेसँगै पठनपाठनदेखि सर्वसाधारणको दैनिकी प्रभावित हुन थालेको हो ।

गर्मी बढेपछि रौतहटका केही स्थानीय तहहरूले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादवका अनुसार, अत्यधिक गर्मीका कारण जेठ २८ गतेदेखि ३० गतेसम्म नगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिइएको छ ।

त्यस्तै, गौर नगरपालिकाले बिहान ६ देखि ९ बजेसम्म मात्र विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ भने इशनाथ नगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

तापक्रमसँगै तातो हावा चल्न थालेपछि बिहान र साँझको समयसमेत बजारमा सर्वसाधारणको चहलपहल निकै घटेको छ । दिउँसोका समय बजार लगभग सुनसान हुने गरेको स्थानीयवासीको भनाइ छ । अत्यधिक गर्मीका कारण वृद्धवृद्धा, बालबालिका तथा विरामीहरू बढी प्रभावित भएका छन् ।

चिकित्सकहरूका अनुसार अत्यधिक गर्मीले लु लाग्ने खतरा उच्च रहन्छ । उनीहरूले अत्यावश्यक कामबाहेक घरबाट ननिस्कन र निस्कनै परेमा शरीर छोप्ने लुगा तथा छाता अनिवार्य प्रयोग गर्न आग्रह गरेका छन् । साथै, ताजा र सफा खाना मात्र सेवन गर्न, अत्यधिक पानी पिउन र सफा वातावरणमा बस्न सुझाव दिएका छन् ।

गर्मीका कारण सर्वसाधारणमा ज्वरो, झाडा–पखाला, आँखा पाक्ने, घमौरा, जनडीस, खटिरा जस्ता लक्षण देखिन थालेका छन् । चिकित्सकहरूले यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन् ।

ADV

सम्बन्धित खबर