२०८२ जेठ ३० गते शुक्रवार / Jun 13 , 2025 , Friday
२०८२ जेठ ३० गते शुक्रवार
Ads

शुभकालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

कमल कुमाल
२०८२ जेठ २९ गते २१:१०
शुभकालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

कालीकोट : कालीकोटको शुभकालिका गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । 

‘श्रोतको उपयोग स्वामित्व र सहभागीता पूर्णखोप पालिका हाम्रो प्रतिबद्वता’ भन्ने मुल नाराका साथ गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीको अध्यक्षतामा पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको हो । 

कार्यक्रममा गाउँपालिका  स्वास्थ्य शाखा प्रमुख गणेश बहादुर शाहीले पूर्णखोप सुनिश्चितता जनसंख्याको सबै वर्गलाई आवश्यक पर्ने सम्पूर्ण खोपहरू उपलब्ध गराइ सुनिश्चितता घोषणा गरिएको बताए । यस कार्य (खोप सुनिश्चितता) लाई दीर्घकालीन रूपमा गाउँपालिकाले निरन्तरता दिने प्रतिबद्धता गरेको उनले बताए । 

सबै चरणहरूमा खोप छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइएको थियो । यस्तै ८ वटै वडाहरूलाई पूर्णखोप सुनिश्चितता तथा दीगोपना घोषणा गरी अन्तिम चरणमा पालिका घोषणा गर्न लागेको उनले बताए । 

पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने वडाहरूलाई कार्यक्रममा प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । 

जिल्ला समन्वय समितिकी उपप्रमुख मिना रावल (विश्वकर्मा) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटक महतको विशेष आतिथ्यता रहेको थियो । 

कार्यक्रममा ५ वडाध्यक्ष मिमबहादुर शाही, ८ का वडाध्यक्ष दिपराज महतारा, शुभकालिका गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केन्द्रबहादुर शाही, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, विभिन्न वडाका वडाअध्यक्ष, स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष शाहीले गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दीगोपना घोषणा नाममा मात्र  सीमित नराख्ने बताइन् । पालिका स्तरबाट नमुना सर्वेक्षण गरी छुटेका बालबालिकाहरूलाई पुनःखोप लगाइ घोषणा गरिएको बताइन् । 

जिल्ला समन्वय समितिकी उपप्रमुख रावल (विश्वकर्मा)ले गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दीगोपना घोषणा हुनु आफैमा गर्वको विषय रहेको बताइन् । 

कार्यक्रममा बोल्दै सूचना अधिकारी कटक महतले पूर्णखोप सुनिश्चितता केवल तथ्यांकमा सीमित हुन नहुने बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर