दोलखा : पितृसत्तात्मक समाजमा महिलालाई हेर्ने दृष्टिकोण फरक छ । २१ औं शताब्दीमा पनि महिलालाई हेर्ने दृष्टिकोण फेरिएको छैन् । देश संघीय शासन प्रणालीमा गएपछि महिलाहरूको जीवन फेरिएको छ । राजनीतिक नेतृत्वमा महिलाको सहभागिता बढेको छ । राष्ट्रपतिदेखि मन्त्री, मेयर, वडाअध्यक्ष र सदस्यसमेत महिलाहरू बन्न सफल भएका छन् । नेपालको संविधानले राज्यको हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिता पुर्याउने लक्ष्यका साथ प्रत्यक्ष निर्वाचित कार्यकारी पदमा फरक–फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरेको छ ।
त्यही व्यवस्थाले जन्माएको एक प्रतिनिधि पात्र हुन् भिमेश्वर नगरपालिका–७ की ससदस्य खेम कुमारी श्रेष्ठ ।
२०४१ सालमा दोलखाको भिमेश्वर नगरपालिका–५ माटीमा जन्मिएकी श्रेष्ठ हाल वडा नम्वर ७ की निर्वाचित महिला वडा सदस्य हुन् । माटीमा जन्मिएकी श्रेष्ठको बाल्यकाल करिब ९ महिना आफ्नै गाउघरमा बित्यो भने ९ वर्षसम्म भारतमा बित्यो ।
बुवा भारतीय लाहुरे भएका कारण उतै उनले बाल्यकाल बतिाइन् । भारतमै बस्दा कक्षा ४ सम्म भारत सैनिक विद्यालयमा अध्ययन गरिन् । त्यस लगत्तै आफ्नो जन्मथलो माटीमा आएर अध्ययन सुरु गरिन् ।
२०६३ सालमा वडा नम्वर ७ साखिनेमा खेम कुमारी श्रेष्ठको विवाह भयो । सामाजिक क्षेत्रमा सक्रिय र ऊर्जावान रहेकी श्रेष्ठ साखिनेमा घरजम भएपछि समाजको हक हितका लागि लागिन् । वडाको विभिन्न समूहमा बसेर काम गरेकी श्रेष्ठ राजनीतिक क्षेत्रको रुची र स्थानीयहरूको चाहानाअनुसार गत स्थानीय तहको निर्वाचनमा महिला वडा सदस्यमा नेकपा (एमाले)को तर्फबाट चुनाबमा उम्मेदवार बन्दै महिला वडा सदस्यमा निर्वाचिन भइन् । वडा सदस्यमा निर्वाचित श्रेष्ठ हाल भिमेश्वर नगर कार्यपालिकाको कार्यपालिका सदस्यसमेत छिन् । विभिन्न क्षेत्रमा क्रियाशील रहेकी श्रेष्ठ सिलाइ बुनाइको काम पनि गछिन् । जनप्रतिनिधि भएपनि उनी सिलाइ बुनाइको तालिम पनि दिँदै आएकी छिन् ।
बिहान बेलुका घर, खेतीपाती तथा सिलाइ बुनाइमा व्यस्त उनी दिनभर वडा कार्यालयमै जनताको सेवामा भेटिन्छन् । आफू महिला वडा सदस्य भएको नाताले आफ्ना घर, टोल, छिमेकमा भइरहेका विकास निर्माणका कार्यहरूमा पनि उनको निकै लगाव छ ।
खासमा जसरी पुरुषको सफलताको पछाडि महिलाको हात हुन्छ, त्यसैगरी महिलालाई पनि सफलताका लागि पुरुषको साथ आवश्यक पर्ने उनको बुझाइ छ ।
प्रगतिशील, महिला अधिकारका हिमायती, सबै किसिमका विभेदका विरोधी, लोकतन्त्रवादी, समाजवादी ठान्ने धेरै नेता, विद्वान, अभियन्ता कहलिएकाहरू पनि पुरुष प्रभुत्वको विषालु कुलतबाट मुक्त हुन नसकेको उनको बुझाइ छ ।
उनी भन्छिन्, ‘हुन त महिलालाई अझै पुरुषहरूले पत्याउँदैनन् । अझै पनि महिलालाई नपत्याउने, पछि पार्ने चलन छ । तर मलाई अहिले यस ठाउँमा उभिन पाउँदा निकै सन्तुष्टि मिलेको छ ।’
वडाभित्र उत्पादन भएको साग तरकारीलाई राजधानी काठमाडौंसम्म पुर्याउने विषयमा पनि वडाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनी बताउँछिन । यहाँ धेरै तरकारी उत्पादन हुन्छ । आलु, साग, गोलभेंडालगायतका तरकारीलाई बजारीकरणको लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुरामा ध्यान केन्द्रित गरेको उनको भनाइ छ । वडालाई कृषि उत्पादनको हिसाबले माथि उठाउन सकिने हुँदा त्यस क्षेत्रमा लगानीको वातावरण बनाउनुपर्ने उनको जोड छ ।