काठमाडौं : कतारस्थित नेपाली दूतावासले आगामी असार एक गतेबाट मागपत्र प्रमाणीकरण गर्ने भएको छ । दूतावासले शुक्रबार एक सूचना जारी गर्दै आगामी असार एक गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म मागपत्र प्रमाणीकरण गर्ने जनाएको हो ।
दूतावासले सार्वजनिक बिदा बाहेक शुक्रबारदेखि बिहीबार खुला रहने बताएको छ । सरकारले अनुमति दिएपछि काठमाडौं र दोहाबीच जुन ७ देखि नेपाल एयरलाइन्स र कतार एअरवेजलाई साताको एक÷एक उडान शुरु भएको छ ।
उक्त अनुमतिपछि वैदेशिक रोजगार कार्यालय काठमाडौं ताहाचलले आइतबार र बुधबार गरी हप्तामा दुई दिन श्रम स्वीकृति दिन शुरु गरेको छ । त्यसपछि अभिमुखीकरण तालिम दिने संस्थाहरु पनि सक्रिय भएका छन् ।
यता मलेसियाको अवस्थामा भने सुधार आएको छैन । आगामी जुन १५ देखि २८ सम्म लकडाउनको समय लम्ब्याउने निर्णय गरेपछि स्वदेश फर्किने बाधयतामा रहेका नेपाली थप दबाबमा परेका छन् । मलेसियाले यसअघि जारी गरेको लकडाउनको आदेश सकिन थालेपछि जुन २८ सम्म लम्ब्याइएको हो । मलेसियामा पछिल्ला दिनमा दैनिक पाँच हजारभन्दा धेरै संक्रमित थपिने गरेका छन् ।
मलेसियामा नेपाल आउन चेक आउट मेमो लिएका कामदारहरु आत्तिएका छन् । उनीहरुले आफुसँग खानेबस्ने रकमको अभाव रहेको भन्दै मलेसियास्थित नेपाली दूतावाससमक्ष स्वदेश फर्काउन माग गर्दै दबाब बढाइ रहेका छन् ।
दूतावासको साप्ताहिक फेसबुक कार्यक्रममा तृतीय सचिव यशु बस्नेतले चेकआउट मेमो पाएकाहरु नेपालले अन्तर्राष्ट्रिय उडान शुरु गर्न साथ हालको चेकआउट मेमोको आधारमा स्वदेश फर्किन पाउने जानकारी दिँदै नआत्तिन आग्रह गरिरहेको बताइन् । तर नेपाली कामदारबाट दबाब अत्यधिक आइरहेको उनले बताइन् । यसअघि मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले हप्तामा कम्तीमा एउटा भए पनि उडान शुरु गर्न आग्रह गरेका थिए ।
सरकारले चीन, कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने निर्णय गरेपनि मलेसिया र नेपालबीच उडान शुरु गरिएको छैन । भिसा अवधि पूरा गरेर स्वदेश फर्किन तयार रहेका हजारौँ नेपाली उडान नहुँदा अलपत्र परेका छन् ।
उता कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि भन्दै यूएईमा ‘अल्होसन एप’ मा ‘ग्रीन पास’ अनिवार्य गरिएको छ । १६ वर्ष र सोभन्दा माथिका व्यक्तिका लागि लागू हुने उक्त व्यवस्था १५ जुनदेखि लागू गर्ने बताइएको छ । नयाँ मापदण्ड अनुसार सार्वजनिक तथा नीजि समुद्री किनार, सार्वजनिक पार्क, स्विमिङ पुल, सपिङ मल, सुपरमार्केट, जिम, होटल, मनोरञ्जन केन्द्र, सिनेमा हल, संग्रहालय तथा रेस्टुरेन्ट र क्याफेमा प्रवेश गर्नका लागि आबुधाबीका बासिन्दासँग उनीहरूको ‘अल्होसन एप’ मा ‘ग्रीन पास’ (हरियो संकेत) अनिवार्य गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies