गीत र कवितामा आफूलाई रमाउन चाहने व्यक्तित्व हुन् शैलेन्द्रकुमार चापागाईं । आफूलाई साहित्य अनुरागी भन्न रुचाउने उनी पेशाले स्वाथ्यकर्मी हुन् । साहित्यका विविध विधाहरू मनपर्ने बताउने उनी प्रायः सबै विधाहरू अध्ययन गर्न रुचाउँछन् भने लेखनका दृष्टिले बढी गीत, कविता लेख्न रुचाउँछन् । विभिन्न साहित्य संघ संस्थामा रहेर यसको श्रृविद्धीमा तल्लिन रहेका उनी साहित्यक पत्रिका कल्पतरु र मझवुनको सहसम्पादक रहेर कार्य सम्पादन गरिरहेका छन् । त्यस्तै उनी गोठाटार साहित्यक मञ्चको उपाध्यक्ष, साहित्यक पत्रकार महासंघको केन्द्रीय पारषद, रेडक्रसको आजिवन सदस्य, पशुपति भजन मण्डलीको आजिवन सदस्य हुन् । नेतृत्वमा देश र जनताप्रतिको उत्तरदायित्व सोचको विकास हुन नसकेका कारण देश अहिलेको जटिल अवस्थाबाट गुज्रिरहेको बताउने चापागाईंले मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठसँग गरेको कुराकानीको संक्षिप्त अंशः
यतिबेला के गर्दै हुनुहुन्छ ?
तपाईंलाई थाहा छ, यतिबेला कोरोना संक्रमणको दोस्रो लहरको चपेटामा छौं हामी । यसको रोकथाम र नियन्त्रण गर्नका लागि सरकारले गरेको निषेधाज्ञाका कारण सबैतिर ठप्प प्रायः छ । तर, पनि केही कामहरू भने भइरहेका छन् । म स्वास्थ्यसँग सम्मबन्धित भएको हुनाले पनि सुरक्षाका सावधानी अपनाउँदै आफ्नो कार्यमा लागि रहेको छु । केही फुर्सदिलो पनि छु । यही बीचमा गीत, कविता लेखन र विभिन्न पुस्तक अध्ययनमा पनि आफूलाई संलग्न गराएको छु । पछिल्लो समय कोरोना कहरसँगै बाढी पहिरोको चपेटामा हामी परेका छौं । यस्तो समयमा समस्यामा रहेका व्यक्तिहरूलाई थोरै भए पनि सहयोग गर्नुपर्ने हाम्रो कर्तव्य हुन आउँछ । त्यसमा पनि थोरै भए पनि अग्रसर भएको छु । यस्तै केही मेरा व्यक्तिगत काम, केही सामाजिक काम र केही व्यावसायिक काममा नै आफूलाई व्यस्त बनाउँदै आइरहेको छु भन्नुपर्ला ।
तपाईंको साहित्यतर्फ विशेष लगाव रहेको पाइन्छ भने स्वास्थ्य क्षेत्रमा रहेर यहाँले व्यवसायिक सेवा पुर्याई रहनुभएको छ नि ?
हो, तपाईंले भने जस्तै म आफूलाई साहित्यतर्फ विशेष लगाव रहेको व्यक्ति हुँ । अर्थात म साहित्य अनुरागी हुँ । गीत, कविता, कथा लेखनमा लागेको भए पनि पूर्ण रुपमा त्यसतर्फ आफूलाई संलग्न गराएको छैन । केही लेख्छु र फाट फुट सार्वजनिक हुने गर्छन् । आफैँलाई चित्त बुझ्दैन । घिसिपटि रचना भन्दा केही उत्कृष्ट गरौ भन्ने लाग्छ जहिले नि । त्यसैले मैले कोरेका साहित्य रचना मेरै नोटबुकमा सीमित हुन पुगेका छन् । तपाईंले प्रश्नमा उल्लेख गरे जस्तै म स्वास्थ्य क्षेत्रमा आफूलाई पूर्णरुपमा संलग्न गराएको छु । विगत लामो समयदेखि काठमाडौंको पुतलीसडकमा क्लिनिक सञ्चालमा छ । म ल्यावमा छु ।
त्यसोभए साहित्य तपाईंको शौखको क्षेत्र हो ?
शौख नै नभनौ । मैले माथिपनि भने साहित्य अनुरागी हुँ । मेरो विशेष लगाव छ । यससँग सम्बन्धित विभिन्न संघ संस्थामा पनि रहेर मैले कार्य गरिरहेको छु ।
साहित्यमा तपाईंको बढी रुचीको विषय के हो ?
साहित्यका विविध विधाहरू मन पर्छन् । प्रायः सबै विधाहरू अध्ययन गर्न रुचाउँछु । तर, लेखनका दृष्टिले भने म बढी गीत, कविता लेख्न रुचाउँछु ।
सृजनामा वैचारिक महत्व कत्तिको देख्नुहुन्छ ?
मलाई लाग्छ विचार बिनाको जति सुन्दर सिर्जना भए पनि त्यो आलकांरिक शव जस्तै हुन्छ । साहित्य सृजनामा वैचारिक महत्व मानिसको मुटु र मस्तिष्क जत्तिकै हुन्छ ।
जीवन के हो ?
समान्यतय जन्मदेखि मुत्युबीचको समय नै जीवन हो । यो समयकाल भयो । तर यहाँ सुख र दुःखको मिश्रण हुन्छ, आरोह–अवरोह सामना गर्नुपर्ने हुन्छ । विभिन्न सहज र कठिन परिस्थितिका बीचमा आफूलाई होम्दै अगाडि बढनुपर्ने हुन्छ । संघर्ष गरी बाँच्नु र यो समाजलाई केही दिन सक्नु नै जीवन हो । जीवन एक सजीव यात्रा हो ।
कस्ता खालका किताब बढी पढ्नु हुन्छ ?
म सबै प्रकारका किताव पढ्छु । तर, कुनै कुनै कितावले मन छोएन भने बीचमै छोडिदिन्छु । म गैर आख्यान, आख्यान दुवै खालका पढ्छु । कविता, निवन्ध, नियात्रा, संस्मरण आत्मकथा, जीवनकथा पढ्छु । म साहित्य मात्र होइन, गैर साहित्य पनि पढ्छु । त्यसमा राजनीति विज्ञान, अर्थशास्त्र, समाजशास्त्र÷मानवशास्त्र, संस्कृति र कूटनीतिजस्ता अध्ययनका विषय बन्छन् ।
वर्तमान देशको राजनीतिक अवस्थाले कतिको पिरोल्छ ?
पिरोल्ने मात्र होइन भतभती पोल्छ नि । हामीले के सोचेका थियौ अहिले के भयो भनेर ? के यही दिन देख्नका लागि नेपाली जनताले लामो संघर्ष र बलिदान दिएका थिए भन्ने लाग्छ । देशमा अमन चयन र विधिको शासनका लागि लडेर शहीद भएकाहरूले पनि हामीलाई केही गर्न सकेनन् भनेर धिक्कारदै छन् होला । फेरि यो बीचमा केही नभएका पनि होइन तर जुन रुपमा हुनु पर्ने थियो त्यसो हुन सकेन भन्ने मात्रै मेरो गुनासो हो । अर्थात हामीले जसलाई विश्वास गर्यौ उनीहरूले देश र जनताप्रति उत्तरदायित्व हुन सकेनन् भन्ने लाग्छ मलाई । हिजो हामीले गाउँ गाउँमा सिंहदरबार पुुग्छ भनेर भोट मागियो, जनतालाई भनियो, तर आज गाउँ गाउँमा भ्रष्टचार पुग्यो । आज संसदीय बहुमतको दुरुपयोग गर्दै धमाधम जन विरोधी विधेकहरू एकपछि अर्को ल्याउने काम भएको छ । यसले के देखाउँछ भने नेतृत्वमा जनताप्रतिको उत्तरदायित्व सोचको विकास हुन सकेन । यसका लागि युवा पुस्ताले अब हस्तक्षेपकारी भुमीका खेल्नुपर्छ । देश र जनता भन्दा व्यक्तिगत स्वास्र्थमा पूर्ण रुपमा चुर्लुम्म डुबेकालाई हस्तक्षेपकारी भूमिका निर्वाहगरी बर्हिगमन गराउनु आजको आवश्यकता हो । अन्यथा इतिहासले हामीलाई धिक्कार्ने छ । यसका लागि सबै तह र तप्काबाट दवाव सिर्जना गर्नु जरुरी छ ।
अबको नेतृत्व कस्तो हुनुपर्छ भन्ने लाग्छ ?
आफ्ना आसेपासे बाहेक अरुलाई जनता न देख्ने नेतृत्वका कारण माथिको मेरो आक्रोस हो भनेर बुझनुहोस् । मलाई के लग्छ भने कुनै पनि पार्टी वा संगठनमा नेतृत्व ‘लिडरसिप’ महत्वपूर्ण पक्ष हो, लिडर बन्न सजिलो पनि छैन । आजको सदर्भमा आफ्नो पदीय जिम्मेवारी वहन गर्न सक्ने निष्ठा, योग्य र इमान्दारीता भएका शाहसी, निष्पक्ष तथा गुटभन्दा माथि उठेर पार्टी र संगठनमा लाग्ने व्यक्तिको खाँचो छ । देश र जनताप्रति वफादार नेतृत्वको आवश्यक छ । देशको माया भएको नेतृत्व नै आजको आवश्यक हो । भन्न त सबैले देश र जनताका लागि नेतृत्व गरेको भन्छन् मलाई त लाग्छ केही अपवाद बाहेक सबै ढोगी छन् । कम्मल ओढेर घ्यू खान्छन् । सबैलाई मिलाएर सही र न्यायोचित निर्णय क्षमता राख्न सक्ने व्यक्ति आजको आवश्यकता हो ।
अन्त्यमा...?
म आफ्नै काममा लागि रहने, समाजमा खटिरहने व्यक्तिका रुपमा आफूलाई संलग्न गराउन चाहन्छु र त्यस्तै प्रकृतिको पनि छु । तपाईंको केही दिनदेखिको आग्रहलाई आज यस संवादका रुपमा पाठकमाझ आउँदै छ । यो समय र सवादका लागि तपाईं र तपाईंको टिमलाई धेरै धेरै धन्यवाद ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies