दोलखा : ‘नगरौं है विवाहको कुरा, भएको छैन २० वर्ष पुरा’ भन्ने नारासहित बालविवाह अन्त्य अभियान अन्तर्गत बैतेश्वर गाउँपालिकाका ८ वटै वडामा समुदाय परिचालन कार्यक्रम सम्पन्न गरिएको छ ।
उज्यालो भविष्य संस्था दोलखाको आयोजना तथा बैतेश्वर गाउँपालिकाको सहकार्यमा सम्पन्न कार्यक्रममा बालविवाहको असर, कानुनी व्यवस्था र रोकथामका उपायबारे समुदायस्तरमा सचेतना जगाइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका उपाध्यक्ष कल्पना उप्रेतीले बालविवाह गाउँपालिकाका लागि गम्भीर चुनौतीको विषय भएको भन्दै पालिका स्तरमै यसलाई अन्त्य गर्न कटिबद्ध रहेको बताइन् । उनले बालबालिकाको हक, अधिकार र संरक्षणमा पालिकाको सक्रिय भूमिका रहने बताइन् ।
उज्यालो भविष्य संस्था दोलखाका अध्यक्ष राजन बस्नेतले नेपालको कानुन अनुसार २० वर्ष उमेर पूरा नभएसम्म विवाह गर्नु गैरकानुनी रहेको भन्दै मुलुकी अपराध संहिता ऐन, २०७४ र बालबालिका सम्बन्धी ऐन, २०७५ अन्तर्गत बालविवाहलाई रोक्न बनेका कानुनी प्रावधानबारे जानकारी गराएका थिए ।
कार्यक्रम संयोजक तथा प्रशिक्षक भरत बस्नेतले बालविवाहबाट हुने शारीरिक, मानसिक, सामाजिक र शैक्षिक असरबारे प्रकाश पार्दै त्यसको समाधानका उपायहरू प्रस्तुत गरे । कार्यक्रममा वडाध्यक्षहरू, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, शिक्षक, विद्यार्थी, बाल क्लबका पदाधिकारीहरूलगायत सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
समुदायमा चेतना अभिवृद्धि गर्दै बालविवाहमुक्त समाज निर्माण गर्ने लक्ष्यसहित गरिएको यो कार्यक्रमलाई सहभागीहरूले सकारात्मक रूपमा लिएको र आगामी दिनमा थप प्रभावकारी अभियान सञ्चालन गर्ने योजनासमेत रहेको आयोजक संस्थाले जनाएको छ ।