सन्धिखर्क : अर्घाखाँची जिल्लामा सवारी दुर्घटनामा भइरहेको वृद्धिलाई ध्यानमा राख्दै सन्धिखर्कमा सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान सुरू गरिएको छ । जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र सन्धिखर्क नगरपालिकाको संयुक्त पहलमा जनचेतनामूलक स्टिकर टाँस्ने, कृत्रिम डेमो प्रदर्शन गर्ने र सवारी चालकहरूलाई प्रशिक्षण दिने कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रम अन्तर्गत मोटरसाइकल, बस, माइक्रोबसलगायतका चालकहरूलाई दुर्घटनाका सम्भावित कारणहरू, रोकथामका उपायहरू र प्राथमिक उपचारका विषयमा प्रशिक्षण दिइएको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार, तीव्र गति, अत्यधिक आत्मविश्वास, निद्रा नलाग्ने अवस्था र अस्वाभाविक ड्राइभिङले दुर्घटनाको जोखिम बढाएको हुँदा चालकमा सचेतना फैलाउन अभियान सुरु गरिएको हो ।
जेष्ठ २८ देखि सञ्चालनमा आएको उक्त अभियान अर्घाखाँचीका विभिन्न चोक र सडकमा निरन्तर जारी छ । ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक निरज गौतमले सडकमा सवारी सचेतना फैलाउने कार्यक्रमलाई थप प्रभावकारी बनाइने जानकारी दिए ।
कार्यक्रम अन्तर्गत माध्यमिक तहमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूलाई लक्षित गरी पाँच वटा निजी तथा सरकारी विद्यालयहरूमा सडक दुर्घटना न्यूनीकरण र विद्यार्थी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले विद्यार्थीहरूलाई सिकेका ज्ञान समुदाय र घरमा पुर्याउन आग्रह गर्दै, सवारी अनुमति पत्र, मादकपदार्थको प्रयोग नगर्ने र सुरक्षित यात्रा संस्कृति विकास गर्न आह्वान गरे ।
अभियानमा सहभागी चालक र सहचालकहरूको सन्धिखर्क–६ नरपानीस्थित अर्घाखाँची अस्पतालको सहकार्यमा स्वास्थ्य परीक्षण, आँखाको जाँच तथा औषधि वितरण समेत गरिएको छ । यात्रुसँग दुव्र्यवहारसम्बन्धी गुनासो आउन थालेपछि स्वास्थ्य परीक्षणको कार्यक्रम सुरु गरिएको डिएसपी मल्लले जानकारी दिए ।
सडक दुर्घटना न्यूनीकरण समितिको संयोजनमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा आगामी दिनमा पनि सचेतनामूलक तथा नियन्त्रणमूलक गतिविधि निरन्तर सञ्चालन गरिनेछ । साथै, कार्यक्रमको अवसरमा सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जिल्ला प्रहरी कार्यालयलाई विपद् व्यवस्थापनमा उपयोगी सामग्रीहरू हस्तान्तरण गरेका छन् । सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरी, नगरपालिका, विद्यालय, अस्पताल र अन्य सरोकारवालाबीचको समन्वयलाई उदाहरणीय कदमका रूपमा लिइएको छ ।