२०८२ असार १२ गते बिहिवार / Jun 26 , 2025 , Thursday
२०८२ असार १२ गते बिहिवार
Ads

सल्यानमा सय बढी बस्ती जोखिममा

shivam cement
मध्यान्ह
२०८२ असार १२ गते १५:०७
सल्यानमा सय बढी बस्ती जोखिममा

सल्यान : सल्यानका १० स्थानीय तहमा सयभन्दा बढी बस्ती बाढी, पहिरो र डुबानको जोखिममा छन् । जसका कारण ४ हजार परिवार प्रभावित भएका छन् । तथ्यांकअनुसार बाढीबाट जिल्लाका १० स्थानीय तहका १९, पहिरोबाट ७३ र डुबानका कारण ११ बस्ती जोखिममा छन् । तीमध्ये ३५ बस्ती उच्च जोखिममा रहेका छन् । उच्च जोखिममा परेका बस्ती अहिलेसम्म सम्बन्धित निकायले स्थानान्तरण गर्न सकेका छैनन् ।

बाढी, पहिरो र डुबानबाट शारदा नगरपालिकाभित्र श्रीनगर बजार, शान्तिनगर, रेसमज्युला, रामेखोला, ज्वालापुर , खैराबाङ, स्यानीखाल, बन्गाडकुपिण्डे नगरपालिकाका गैरीबजार, नाथेखोला, गर्चे, रैकर, बाङ्गेरह, मैनेनी, ¥याले, कोटभीर, निगालचुला , भदाले, चिसापानी, बाबियाचौर जोखिममा छन् । बाग्चौर नगरपालिकाका दोभानबजार , सिमखोली, परिलेख, मौरीघारे, धामीढुंगा, कुइयापानी, रातामाटा बाफुखोला, ओखरेनी, जोरपानी, अँधेरी, चिसापानी, तरुलेखोली, जमरा, भयारनाथ, त्रिवेणी गाउँपालिकाका रिखेबजार, ढुंगीबगर, लुहामबजार, अखेला, कालापोखरा, चोरखोला, थकलेनी,टाटके, कैनेपानी, रावतगाउँ , सिम्क, टुनिबोट, डाँडागाउँ, डाडासल्ले, श्रीचवर जोखिम क्षेत्र हुन् ।

कपुरकोट गाउँपालिकाभित्रका गैरीबाङ, सिमलकुना, दानबाङ, कपुरकोट बजार, चोरखोला, फलाटे, मुलपानी, दहवन, सिन्दुरी, सल्लाम, छत्रेश्वरी गाउँपालिकाका लान्तीबजार, सांघार, चामे, चोरपाटा, सल्लेरी, साधनचौर प्राकृतिक विपद्को जोखिममा छन् । कालिमाटी गाउँपालिकाका खैरेनी जम्मुखोला, पाखापानी, कालाखोला, गणेशज्युला , किचने खोला, खारखोला जलजला, बाटुले,  र्‍याङ, कुमाख गाउँपालिकाका स्यानीपिप्ली, खोलाखेत, च्याउखोला, त्वालधारी, झारकाँडा, जिउली, खारखोला, शान्तिबजार, सिद्धकुमाख गाउँपालिकाका सिमखोली, भडारे, फलाटे, सुरेली, दुबेरीचौर र दार्मा गाउँपालिकामा फारुला बजारलगायत वडा नं २,३ र ४ का बस्ती जोखिममा छन् ।

बाढी ,पहिरो र डुबानबाट बस्ती जोगाउनका लागि विगतदेखि सम्बन्धित निकायले खोला, पहिरो गएको स्थानमा बाँध निर्माण, पक्की पर्खाल तथा वृक्षारोपण कार्यक्रम गर्दै आएका छन् तर त्यसको प्रभाव त्यत्ति परेको छैन । बाढी, पहिरोले बेलाबेलामा क्षति पुर्‍याउने गरिरहेको छ । 

विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले विपद् प्रतिकार्य भइरहेको बताए । उनले जिल्लाका सबै पालिका र रेडक्रससँग बसेर छलफल चलिरहेको र विगतमा बस्ती आसपासमा भएको बाढी, पहिरोको क्षतिबाट सबैलाई बचाउन तारजाली लगाउने काम भने भइरहेको उनले जानकारी गराए । विपद्‍बाट सर्वसाधारणलाई बचाउन सचेतनामूलक कार्यक्रम पनि भइरहेको उनको भनाइ छ ।
कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले पालिकाभित्र दर्जन बस्ती पहिरोको जोखिममा भए पनि सबैभन्दा उच्च जोखिममा कपुरकोट बजार र सल्लाम रहेको बताए । सल्लामका केही घर परिवार स्थानान्तरण गर्न सफल भए पनि कपुरकोट बजारका स्थानीयलाई स्थानान्तरण गर्न नसकिएको उनको भनाइ छ । 

ADV

सम्बन्धित खबर

Advertise