२०८२ असार १९ गते बिहिवार / Jul 03 , 2025 , Thursday
२०८२ असार १९ गते बिहिवार
Ads

सातै प्रदेशका प्रदेश प्रमुखले भेटे राष्ट्रपति

shivam cement
मध्यान्ह
२०८२ असार १८ गते १६:५१
सातै प्रदेशका प्रदेश प्रमुखले भेटे राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता भएको बताएका छन् । 

बुधबार शीतल निवासमा सातै प्रदेशका प्रदेश प्रमुखहरूसँग भेटघाट गर्दै राष्ट्रपति पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत गर्ने महत्वपूर्ण आधार प्रदेश भएको उल्लेख गर्दै प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता भएको बताए । 

प्रदेशको आन्तरिक स्रोतको सक्दो प्रयोग गरेर प्रादेशिक विकासका नयाँ–नयाँ सपनाहरू बनाउन, प्रत्येक प्रदेशले आफ्नो मौलिकता निर्माण गरेर अगाडि बढ्न सम्बन्धित सरकारलाई सुझाव दिनुपर्ने आवश्यकता उनले औंल्याए ।

‘प्रदेशहरू सुदृढ भए यो व्यवस्था सुदृढ हुन्छ । संविधानको सम्पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पर्ने संघीय, प्रादेशिक र स्थानीय तहका कानुनको तर्जुमा र त्यसको निष्कपट कार्यान्वयनबाट संविधानको औचित्य र सार्थकता प्रमाणित हुन्छ भन्ने मेरो विश्वास छ,’ राष्ट्रपति पौडेलले भने ।

प्रदेश प्रमुखहरू प्रदेशको प्रमुखसँगै केन्द्रको प्रतिनिधि पनि भएकाले सङ्घ र प्रदेशबीचको समन्वयकर्ताका रूपमा भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उनले प्रदेश प्रमुखहरू संघीयताको सेतुका रूपमा रहेको उल्लेख गरे । 

उनले विकास–निर्माण, सुशासन, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, साहित्य, कला, संस्कृतिजस्ता क्षेत्रको विकास, विस्तारमा सुझाव दिने र यी क्षेत्रमा सम्पर्क तथा सम्बन्ध विस्तार गर्ने काममा लाग्न सुझाव दिए ।

राष्ट्रपति पौडेलले सबै मिलेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नेतर्फ लाग्न आग्रह गरे । ‘प्रदेशको संरचनाले मात्र राजनीतिक महत्त्व स्थापित हुँदैन । यसको चरित्रलाई जनमुखी, समावेशी र सुशासित बनाउन जरुरी छ। चरित्रको परिवर्तन हुनु मुख्य विषय हो। राजनीतिक उपलब्धिलाई नागरिकको जीवनसँग जोडौँ । प्रदेश–प्रदेशबीच स्वस्थ प्रतिस्पर्धा गरौँ। साथसाथै अन्तरप्रदेश सहकार्य र समन्वयमा जोड दिऔँ । एकापसको सहकार्यले सबैलाई लाभ पुग्नेछ भन्ने मलाई लाग्छ,’ राष्ट्रपति पौडेलले भने ।

सो अवसरमा सातै प्रदेशका प्रदेश प्रमुखहरूले आफूले भोग्नुपरेका कठिनाइ, कानुन नियममा रहेका अन्योलहरूको बारेमा जानकारी गराउँदै यसको समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइदिन राष्ट्रपतिसमक्ष आग्रह गरेका थिए ।


 

ADV

सम्बन्धित खबर

Advertise