रुपन्देही : रुपन्देहीको कञ्चन गाउँपालिकाका करिब ५ सय परिवारलाई एकसाथ लालपुर्जा वितरण गरिएको छ ।
आइतबार रुपन्देहीमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कञ्चन–५, गरगरेका बासिन्दालाई भूमि समस्या समाधान आयोगका केन्द्र र जिल्ला नेतृत्व एवम् मालपोतका सम्बन्धित अधिकारीहरुको रोहबरमा लालपुर्जा वितरण गरेका हुन् ।
लालपुर्जा वितरण गर्दै मन्त्री पौडेलले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या समाधानमा कन्चन गाउँपालिका रुपन्देहीमै पहिलो बनेको बताए ।
कांग्रेस–एमाले गठबन्धनको सरकार आगामी २०८४ सम्मै रहने भन्दै उनले त्यतिबेलासम्म मुलुकभरिका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित जग्गाधनीलाई प्रमाण पुर्जा दिने कार्य सम्पन्न गरिने धारणा राखे ।
पौडेलले देशलाई समृद्ध बनाउँदै नागरिकलाई सुखी बनाउने लक्ष्यका साथ सरकार अघि बढेकाले यसमा सबैले साथ दिनुपर्ने बताए । उनले समाजमा एकथरी मान्छेहरू नकारात्मक बिचार छर्न क्रियाशील रहेको भन्दै त्यस्ता सोचको पछि नलाग्न आग्रह समेत गरे ।