सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतले ५ किलोभन्दा बढी अफिमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले पत्रकार सम्मेलन गर्दै अवैध अफिमको कारोबार गरिरहेका जाजरकोटको जुनिचाँदे गाउँपालिका–१० सिर्पाका ४६ वर्षीय जयबहादुर बस्नेतलाई सार्वजनिक गरेको हो ।
बुधबार साँझ भेरीगंगा नगरपालिका–१० तालबारीमा अफिम कारोबार भइहेको सूचना प्राप्त भएपश्चात जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको टोलीले भेरीगंगास्थित तालबारीबाट बस्नेतलाई पक्राउ गरेको हो । बस्नेतलाई चेकजाँच गर्दा उनले बोकेको झोलाभित्र लुकाइ राखेको अफिमजस्तो देखिने ५ किलो ५४० ग्राम गिलो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए ।
पक्राउ परेका बस्नेतको साथबाट अफिमसहित तौल गर्न प्रयोग गरिने डिजिटल तराजु १ थान, नागरिकता प्रमाणपत्र, विभिन्न बैंकका चेक धितो ५ थान र नगद ४ हजार ७ सय ३० रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
उनीमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद ३, दफा १४, उपदफा ६(३) बमोजिम मुद्दा दर्ता गरिएको छ । सो दफाअनुसार १०० ग्रामभन्दा बढी अफिमको कारोबार गर्नेलाई १५ वर्षदेखि जन्मकैद सजाय र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । प्रारम्भिक अनुसन्धानअनुसार जाजरकोटलगायतका पहाडी जिल्लाबाट संकलन गरिएका अफिम आर्थिक लाभका लागि नेपालसँग सीमा जोडिएका छिमेकी देशका सीमासम्म ओसारपसार हुने गरेको छ ।
बरामद अफिमको मूल्य स्थानीय नेपाली बजारमा करिब ८ लाख ८६ हजार ४ सय रुपैयाँ र प्रतिकिलो १ लाख ६० हजार रुपैयाँ रहेको अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा भने अफिमको मूल्य करोडौं पर्ने भएकाले विदेश लैजान लागिएको हुन सक्ने प्रहरीको आशंका छ ।
त्यस्तै पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालय सुर्खेतले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ स्थित हटियालाइनमा रहेको एक खाजाघरमा जुवा खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ परेको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बुधबार साँझ तिर्थराज रेग्मीद्वारा सञ्चालित "टेष्टी खाजा घर" मा जुवा खेलिरहेको गोप्य सूचना प्राप्त भएपछि प्रहरीले सो स्थानमा छापा मारी उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
जुवा खेल्दै गरेको अवस्थामा दैलेख स्थायी घर भइ हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ हटियालाइनमा बस्ने ४१ वर्षीय होटल सञ्चालक तीर्थराज रेग्मी, दैलेखकै गुँरास गाउँपालिका वडा नं. ६ का ३६ वर्षीय विनोद रोकाय, कालीकोटको रास्कोट नगरपालिका वडा नं. ५ घर भइ हाल वीरेन्द्रनगर वडा नं १ बस्ने ४० वर्षीय कटन शाही, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ का ३२ वर्षीय जगदिश रोकाय र सोही वडाका ५८ वर्षीय तिलक चपाईलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले घटनास्थलबाट नगद ३४ हजार ६४५ रुपैयाँ, विभिन्न कम्पनीका मोबाइल फोनहरू र ८ गड्डी तास बरामद गरिएको जानकारी दिएको छ । पक्राउ परेकाहरूविरुद्ध जुवा खेल्ने तथा सट्टेबाजीसम्बन्धी कानुनी प्रक्रियाअनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।