सिरहा : सिरहाको धनगढीमाई नगरपालिका–१३ भरनैनी बस्तीका करिब १५० घर परिवारले खानपानीको चरम अभाव भएको छ । तीन वटै तहका सरकारको उपस्थितिपछि पनि पानीको समस्याले दीर्घकालीन समाधानको बाटो पाउन सकेको छैन ।
वर्षौंदेखि जनप्रतिनिधिका चुनावी आश्वासनमा अल्झिएका बासिन्दा एक जार पानीका लागि घण्टौँ लाइन बस्न बाध्य छन् । केही समयअघि नगरपालिकाले २ वटा ठूला बोरिङ जडान गरिएको भए पनि पानीको मात्रा अत्यन्त न्यून भएपछि समस्या जस्ताको त्यस्तै छ ।
स्थानीयहरू बिहानदेखि बेलुकासम्म पानीको जोहो गर्न संघर्षरत छन् । स्थानीय लक्ष्मीनियाँ देवी राम भन्छिन्, ‘घाममा घण्टौँ लाइन बस्नुपर्छ, दुई–तीन घण्टापछि बल्ल पालो आउँछ । एक जार पानीबाट खान पकाउने, कपडा धुने र गाईबस्तुलाई खुवाउने सबै काम गर्नुपर्छ, कतिपय त खाली हातै फर्किनुपर्छ ।’
त्यसैगरी, गहनी देवीराम र रधिया रामको गुनासो अझै गहिरो छ । उनीहरुको भनाइ छ, ‘बिहानदेखि बेलुकासम्म पानीकै चिन्तामा बित्छ । एक बाल्टिन पानी भर्न घण्टौँ लाइन बस्नुपर्छ । नेताहरू चुनाव आउँदा बोरिङ दिन्छु भन्छन्, तर जितेपछि फर्केर कोही हेर्दैनन् ।’
धनगढीमाई–१३ का वडाध्यक्ष सूर्यमान तामाङले खानेपानी ट्याङ्की निर्माण भइसकेको र अहिले पाइपलाइन विस्तारको काम बाँकी रहेको जनाए । उनले भने, ‘स्थायी समाधानका लागि तयारी भइरहेको छ, चाँडै समाधान गर्छौं ।’
यस्तो पीडादायी पृष्ठभूमिमा केही दिनअघि संघीय खानेपानीमन्त्री प्रदीपकुमार यादवले वडामा ‘डाबर खानेपानी योजना’ उद्घाटन गरेका थिए । उद्घाटन समारोहले केही आशा दिलाए पनि बासिन्दाले अझै पानीको धारामा सुक्खा नै महसुस गरिरहेका छन् ।
धनगढीमाईका नगरप्रमुख शिवशङ्कर महतोले भने, ‘हामी बस्तीको समस्याप्रति पूर्ण जानकार छौँ । नगरपालिकाले ट्याङ्की निर्माण गरिसकेको छ र अब पाइपलाइन विस्तार तथा पानीको स्रोत सुदृढीकरणमा जोड दिइरहेका छौँ ।’