सप्तरी : कामको सिलसिलामा भारतको गुजरात पुगी असहज परिस्थिति झेलिरहेका पाँच नेपाली मजदुरको सकुसल उद्धार गरिएको छ ।
भारत गुजरातको जोहरापुरा गाउँस्थित रामदेव कोल्डस्टोरमा काम गर्ने सप्तरी जिल्ला तिरहुत गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका पाँच जना मजदुरको उद्धार गरी उनीहरूलाई परिवारसमक्ष जिम्मा लगाइएको हो ।
तिरहुत गाउँपालिकाका अध्यक्ष विजय यादवका अनुसार काम लगाउने ठेकेदारले कुटपिटसहित मानसिक तथा शारीरिक यातना दिनेगरेको र सम्झौताअनुसारको पारिश्रमिक दिनुको सट्टा कार्यक्षेत्रमा डरधम्की देखाई श्रम शोषणमा परेका तिरहुतका–४ का ६० वर्षीय सकलदेव सदा र हनुमाननगर कंकालिनी–८ का २८ वर्षीय चन्दन खङ्ग एवं शैलेन्द्र सदासहित पाँच जनालाई सकुशल उद्धार गरिएको हो ।
अध्यक्ष यादवले पीडित मजदुरहरूको उद्धार गरी नेपालसम्म ल्याउने काममा सञ्चारकर्मीसमेत रहेका साइबर सुरक्षा विश्लेषक कुमार अभिनवको सक्रियता तथा नेपाल राष्ट्रिय मुसहर संघको सहयोग र समन्वयमा उनीहरूलाई उद्धार गरिएको स्पष्ट पारे ।
नेपाल राष्ट्रिय मुसहर संघ सप्तरीका अध्यक्ष शिवदेव सदाले गुजरातस्थित जोहरापुराका स्थानीय अधिकारी र सप्तरी तिरहुत गाउँपालिकाका अध्यक्ष यादवको विशेष सहयोग र समन्वयसहित सञ्चारकर्मी एवं इञ्जिनियर अभिनवको सक्रियतामा पाँच नेपाली मजदुरलाई नेपाल ल्याउन सफल भएको बताए ।