सिरहा : सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले बुधबार मेयर साहलाई १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
नगरपालिकामा २० लाख बजेटमा निर्माण भएको नालाका एक उपभोक्ता समितिसँग उनले २० प्रतिशत कमिसन मागे गरेको अख्तियारले जनाएको छ ।
तर, उपभोक्ता समितिले रकम दिन नसकेपछि मेयर साहले योजनाको चेक दिन मानेका थिएनन् । एक साताको बार्गेनिङपछि मेयर साहले चेक लिनुअघि कम्तीमा १ लाख रुपैयाँ दिन र चेकको रकम खातामा आइसकेपछि बाँकी रकम दिन उपभोक्ता समितिलाई भनेका थिए ।
यस विषयमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिए ।