काठमाडौं : प्रहरी महानिरीक्षक दीपक थापाले आर्थिक वर्ष २०८०/०८१ को भन्दा आ.व. २०८१/०८२ मा अपराधका घटनामा वृद्धि भएको बताएका छन् । शुक्रबारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले आर्थिक वर्ष २०८०/०८१ को भन्दा आ.व. २०८१/०८२ मा झन्डै १.२४ प्रतिशतले कसुरको मात्रा बढेको जानकारी दिए ।
उनका अनुसार २०८०/०८१ मा देशभर ५८ हजार ४ सय ७० वटा मुद्दा दर्ता भएको थियो भने आ.व. २०८१/०८२ मा ५९ हजार २ सय ४ घटना दर्ता भएका छन् । सबैभन्दा धेरै मुद्दा दर्ता काठमाडौं उपत्यकामा नै दर्ता भएको र कुल मुद्दामध्ये काठमाडौं उपत्यकामा दर्ता भएका मुद्दाको संख्या १६ हजार १ सय ७२ रहेको छ । त्यसपछि सबैभन्दा धेरै मधेश प्रदेश र कोशी प्रदेशमा मुद्दा दर्ता भएका छन् । कर्णालीमा सबैभन्दा कम मुद्दा दर्ता भएका छन् ।
सवारी दुर्घटनाको स्थिति भयावह रहेको प्रहरी महानिरीक्षक थापाले बताए । झन्डै एक दिनमा ७ देखि १० जनाको मृत्यु हुने गरेको र यो मधेश प्रदेशमा बढी रहेको बताए । आ.व. २०८१/०८२ मा २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटनामा २ हजार ५ सय ४९ जनाको मृत्यु भएको बताए ।
महानिरीक्षक थापाले शान्ति सुरक्षा सही ठाउँमा रहेको बताए । एक दिनमा नेपाल प्रहरीले २ सय २६ वटा सवारी गस्ती, चेकिङ ६ सय ९, पैदल गस्ती १ हजार १ सय १०, ग्रामिण गस्ती ७ सय १२ हुने गरेको बताए । २४ घण्टामा ३० हजार ३ सय ७४ जनशक्ति सुरक्षामा खटिने गरेको उनले बताए । नेपाल प्रहरीलाई नेपालभर २४ घण्टामा ७ हजार २ सय ५५ वटा आउने गरेको उनले बताए ।