काठमाडौं : यूएईस्थित नेपाली दूतावासले वैदेशिक रोजगारसहित सबै प्रकारका भ्रमणमा उक्त मुलुक जानेले अनिवार्यरुपमा क्यूआर कोडसहित कोरोना खोप प्रमाणीकरण गर्न आग्रह गरेको छ । नेपालमा कोरोना भाइरस संक्रमण बढेपछि हाल यूएईमा नेपालबाट उडान रोकिएको छ ।
तर नेपाली दूतावासले पछिल्लो समय खाडीका धेरै देशहरुले यात्रुले कोरोना भाइरसविरुद्धको खोप लगाएको प्रमाणमा क्यूआर कोड पनि मागिरहेकाले यूएईले पनि चाँडै यस्तो नियम लगाउन सक्ने भन्दै नेपाली दूतावासले क्यूआर कोड अनिवार्यरुपमा लिन भनेको हो ।
नेपालमा रहेका राहदानी नवीकरण गर्नुपर्ने वा नयाँ लिनुपर्नेहरुले कोरोनाविरुद्धको खोप लिई नसकेको अवस्थामा कोरोना भाइरस भ्याक्सिन सम्बन्धी स्वास्थ्य तथा जनासंख्या मन्त्रालयको वेबसाइटमा गएर प्री इनरोलमेन्ट फारम भरी खोप लगाई क्यूआर कोडसहितको खोप प्रमाणपत्र लिनुपर्ने दूतावासको भनाइ छ ।
क्यूआर कोडसहितको खोप प्रमाणपत्र नभएमा भविष्यका दिनमा यूएई यात्रामा समस्या हुन सक्ने भन्दै दूतावासले यूएईमा विभिन्न पेशा व्यवसाय गरेर बसेका नेपालीलाई पनि नेपालमा रहेका आफ्ना आफन्तहरुलाई क्यूआर कोडसहितको खोप प्रमाणपत्रबारे जानकारी गराउन आग्रह गरेको छ ।
यूएईमा नेपाली कामदारले होटल, रेष्टुरेण्ट, सुरक्षा गार्ड, मल तथा अन्य सेवाका क्षेत्रमा रोजगारी गर्ने गरेका छन् । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा जाने कामदारहरुले कोरोनाविरुद्धको खोप लगाएको क्यूआर कोडसहितको प्रमाण पत्र नदिएको भन्दै सडक प्रदर्शनमा उत्रिएका थिए । वैदेशिक रोगजारीमा जान श्रम स्वीकृति लिएका कामदार आइतबार काठमाडौंको भद्रकालीमा तत्काल खोप कार्डको व्यवस्था गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।
त्यसैगरी दूतावासले यूएईमा कोरोनाको खोप लिइसकेका नेपालीले उक्त खोप लगाएको प्रमाण साथमा राखेर विदेश यात्रा गर्नपनि आग्रह गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies