रुकुमपूर्व : जंगली च्याउ खाँदा रुकुमपूर्वमा एक बालकको मृत्यु भएको छ भने उनकी आमा र दुई दिदी गम्भीर बिरामी परेका छन् । भूमे गाउँपालिका–५, सेराबाङका ३ वर्षीय योजन सुनारको उपचारको क्रममा मृत्यु भएको हो ।
योजनसँगै च्याउ खाएका उनकी आमा ३५ वर्षीया राजकुमारी सुनार, ९ वर्षीया छोरी आयुषा सुनार र ६ वर्षीया भाग्यरेखा सुनार गम्भीर बिरामी परेका छन् । परिवारका सबै सदस्यले शुक्रबार साँझ जंगलबाट ल्याएर पकाइएको च्याउ खाएका थिए । त्यसपछि उनीहरूलाई ज्वरो, वान्ता, टाउको दुख्ने जस्ता लक्षण देखिन थालेका थिए ।
स्वास्थ्य अवस्था बिग्रँदै गएपछि परिवारलाई सोमबार बिहान रुकुमपूर्व अस्पताल लगिएको थियो । अवस्था चिन्ताजनक देखिएपछि अस्पतालले योजन, भाग्यरेखा र राजकुमारीलाई थप उपचारका लागि सल्यान अस्पताल रेफर गरेको थियो ।
तर, सल्यानमा उपचारकै क्रममा मंगलबार दिउँसो योजन सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक उमाशंकरप्रसाद यादवले जानकारी दिए ।
डीएसपी यादवका अनुसार भाग्यरेखाको अवस्था गम्भीर रहेकोले उनलाई दाङस्थित अस्पताल पठाइएको छ । अर्की छोरी आयुषा भने रुकुम पश्चिम रेफर गरिएको जनाइएको छ ।