२०८२ साउन १५ गते बिहिवार / Jul 31 , 2025 , Thursday
२०८२ साउन १५ गते बिहिवार
Ads

कोशीमा दुई गुणाले बढ्यो सफारी दुर्घटना

shivam cement
तेज बन
२०८२ साउन १४ गते २१:१३
कोशीमा दुई गुणाले बढ्यो सफारी दुर्घटना

इटहरी : कोशी प्रदेशका मुख्य सहरहरूमा सञ्चालित विद्युतीय इ–रिक्सा (सिटीसफारी) दुर्घटना हुने क्रम बढेको छ । कोशी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीबाट प्राप्त तथ्यांक अनुसार पछिल्लो दुई वर्ष यता तीन चक्के विद्युतीय इ–रिक्सा (सिटीसफारी) दुर्घटना दुई गुणाले बढेको हो । 

अघिल्लो आर्थिक वर्ष २०८०/०८१ र ०८१/०८२ मा कोशी प्रदेशका मुख्य जिल्लाहरू, सुनसरी, मोरङ, झापा,उदयपुर र धनकुटामा सबैभन्दा बढी सिटी सफारी दुर्घटना भएको तथ्यांकले देखाएको छ । कोशी प्रदेशमा ०८०/०८१ मा ३ सय ६२ वटा सिटी सफारी दुर्घटना भएका छन् । 

जसमा १९ जनाको मृत्यु, ३५ जना गम्भीर घाइते र ६१३ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । 

त्यस्तै आर्थिक वर्ष २०८१/०८२ मा दुर्घटना संख्या दुई गुणाले बढेर ६१७ पुगेको छ । जसमा १७ जनाले ज्यान गुमाएका छन् भने ४७ जना गम्भीर र  ९ सय ४३ जना सामान्य घाइते भएको कोशी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा सबै भन्दा बढी झापामा १८९ वटा सिटी सफारी दुर्घटना भएको तथ्यांकमा उल्लेख छ । मोरङमा ९४, सुनसरीमा ९१ वटा सिटी सफारी दुर्घटना भएको तथ्यांकमा उल्लेख छ । सुनसरीको इटहरीमा मात्रै गएको आर्थिक वर्ष २०८१/०८२ मा ६६ वटा सिटी सफारी दुर्घटनामा भएको छ । 

त्यस्तै आर्थिक वर्ष २०८१/०८२ मा ट्राफिक नियम उलंघन गरेको भन्दै १४ हजार ४ सय २९ वटा सिटी सफारी र ४ हजार बढी चालक कारबाहीमा परेका छन् ।

कोशीमा २२ हजारको हाराहारीमा सिटी सफारी दर्ता भएर गुडिरहेको ट्राफिक कार्यालयले जनाएको छ । इटहरीमा भने स्थानीय सरकार र यातायात कार्यालयमा गरी १२ हजार ४ सय ९१ वटा सिटी सफारी दर्ता भएका छन् । 

पटक–पटक सचेत गराउँदा पनि ट्राफिक नियम पालना नगरेपछि सिटी सफारी दुर्घटना बढिरहेको कोशी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले मध्यान्हलाई जानकारी दिए । 

जति पनि सफारी दुर्घटना भएका छन् सबै चालककै लापरबाहीका कारण भएको एसपी घिमिरेले बताए । 

लेनको सदुपयोग नगर्नु, लुकिङ ग्लास नहेरी बाटो काट्नु, क्षमता भन्दा बढी यात्रु राखेर राजमार्गमा निस्कनु, ट्राफिक नियमको पालना नगर्नुले दुर्घटना बढेको एसपी घिमिरे बताउँछन् । 

दुर्घटना न्यूनीकरणका लागि स्थानीय स्तरबाटै सचेतना कार्यक्रमहरू गरिरहेको बताउँदै घिमिरेले प्रहरीले आफ्नो ठाउँबाट सक्दो काम गरिरहेको बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise