२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

ज्येष्ठ नागरिकको हत्या कसुरमा १० वर्ष कैद सजाय

ADV
पिन्टु यादव
२०८१ साउन १ गते १२:०३
ज्येष्ठ नागरिकको हत्या कसुरमा १० वर्ष कैद सजाय

सप्तरी : ६५ वर्षीय ज्येष्ठ नागरिकको हत्या गरेको कसुरमा कञ्चनरुप नगरपालिका-१० बदगामा टोलका २८ वर्षीय मनोज पासवानलाई १० वर्ष कैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले असार ३० गते पासवानलाई कसुरदार ठहर गर्दै १० वर्ष कैदका साथै फौजदारी कसुर पीडित राहत कोषमा २ हजार ८ सय रुपैयाँ भर्नुपर्ने फैसला गरेको हो । फैसलामा पीडितको हकवाला कोही फेला नपरेकाले क्षतिपूर्तिका सम्बन्धमा केही गर्न नपरेको उल्लेख छ ।

पासवानले २०८० असार ३१ गते बिहान कञ्चनरूप नगरपालिका-८ स्थित बेरियर चोकमा रहेको बस विसौनीको प्रतिक्षालयमा वृद्धको हत्या गरेको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनरूपका प्रहरी वरिष्ठ हवल्दार धनिलाल साहले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा साउन ४ गते प्रतिवेदन बुझाएका थिए ।

प्रतिवेदनअनुसार बिँडी खान मागेकोमा अपरिचित वृद्धले गालीगलौज गरेपछि रिसको आवेगमा आइ पासवानले छेउमै रहेको बाँसको लाठीले टाउकोमा प्रहार गरी हत्या गरेका थिए भने त्यसपछि उनी फरार भएका थिए ।

अदालतमा पासवानले हत्या गर्ने मनसाय नभएको र तत्काल उठेको रिसमा लाठी प्रहार गर्दा मृत्यु भएको भनेर साबिती बयान दिएका छन् । साबिती बयान गरेर हत्या स्वीकारेको र कसुर गर्दाको परिस्थितिलाई मध्यनजर गरी अदालतले जन्मकैद सजायलाई १० वर्ष कैद मात्र तोकेको हो ।

शवको पोष्टमार्टम गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा २०८० साउन १ गते भएको थियो । पासवान २०८० साउन ३ गते पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय कञ्चनरुपले २०८० साउन ४ गते उजुरी दर्ता गरेको थियो ।

जिल्ला अदालतमा साउन १९ गते अभियोगपत्र दायर भएकोमा न्यायाधीश माधव प्रसाद सुवेदीको इजलासबाट आरोपित साउन २१ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise