रौतहट : रौतहटको गरूडा नगरपालिका–५ स्थित शिवनगर महादेव मन्दिर परिसरमा आयोजना गरिएको तेस्रो सावन सोमवारी महोत्सव २०८२ भव्य रूपमा सम्पन्न भएको छ । धार्मिक आस्था र सांस्कृतिक विविधताको संगमका रूपमा महोत्सवले यस वर्ष पनि हजारौं श्रद्धालु तथा दर्शकहरूलाई आकर्षित गर्यो ।
गरूडा नगरपालिकाको आयोजनामा तथा नेपाल तराई सिटी हस्पिटल, सुकदेव चौकको सहआयोजनामा सम्पन्न महोत्सवमा नेपाल र भारतका चर्चित कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए । भारत बिहारका गायक अलवेला अशोक, नेपालका लोकप्रिय मैथिली गायक जागेश ठाकुर, नृत्याङ्गना एवं मोडल किरण साहलगायतका कलाकारहरूको आकर्षक प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण बनेको थियो ।
यस वर्षको महोत्सव असार २० गतेदेखि सुरु भएको हो । सावन महिनाको पहिलो सोमबार नगरप्रमुख कन्थमणि प्रसाद जयसवालले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा उनले शिवनगर महादेव मन्दिरलाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन योजना रहेको बताए । “यस्ता कार्यक्रमहरूले धार्मिक चेतना अभिवृद्धि मात्र होइन, स्थानीय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउँछन्,” नगरप्रमुख जयसवालले भने ।
श्रावण १९ गते समापन भएको महोत्सवको अन्तिम दिन गरूडा नगरपालिका–५ का वडाध्यक्ष रामबिनोद जयसवाल प्रमुख अतिथि थिए । समापन समारोहलाई सम्बोधन गर्दै उनले महोत्सवले रौतहटको सांस्कृतिक पहिचानलाई स्थापित गर्न योगदान दिएको बताए । “शिवनगर महादेव मन्दिर र सावन सोमवारी महोत्सव यस क्षेत्रको गौरव बनेको छ, यसलाई अझ व्यवस्थित र भव्य बनाउने हाम्रो प्रतिबद्धता छ,” वडाध्यक्ष जयसवालले उल्लेख गरे ।
कार्यक्रमको संयोजन चर्चित कमेडियन तथा रेडियो स्टार मोहरलाल पटेल (एमएल पटेल) ले गरेका थिए भने अध्यक्षतामा चर्चित टिकटक स्टार राजकुमार साह रहेका थिए । महोत्सवमा सहभागी सुरक्षा निकाय, पत्रकार, तथा सहयोग पुर्याउने व्यक्तिहरूलाई मायाको चिन्ह र गम्छा ओढाएर सम्मान गरिएको आयोजक समितिले जनाएको छ ।
आयोजक समितिका अनुसार यो महोत्सवले रौतहटको धार्मिक र सांस्कृतिक पहिचानलाई थप सुदृढ गर्दै धार्मिक पर्यटनको सम्भावनालाई नयाँ उचाइमा पुर्याएको विश्वास लिइएको छ । महोत्सवको सफलताले शिवनगर महादेव मन्दिरलाई धार्मिक गन्तव्यको रूपमा प्रवर्द्धन गर्न थप प्रेरणा दिएको आयोजकको भनाइ छ ।