२०८२ साउन २१ गते बुधवार / Aug 06 , 2025 , Wednesday
२०८२ साउन २१ गते बुधवार
Ads

यस्ता छन् एमाले विधान महाधिवेशनका सम्भावित चार कार्यसूची

shivam cement
मध्यान्ह
२०८२ साउन २१ गते १२:५२
यस्ता छन् एमाले विधान महाधिवेशनका सम्भावित चार कार्यसूची

काठमाडौं : नेकपा एमालेको आगामी भदौ २० देखि २२ गते हुने दोस्रो विधान महाधिवेशनमा चारवटा मुख्य कार्यसूचीमा छलफल हुने भएको छ । 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र केन्द्रीय निकायका रुपमा रहेका चार सल्लाहकार परिषद् र तीन आयोगको प्रतिवेदन प्रस्तुत हुने जानकारी दिए ।

उनका अनुसार महाधिवेशनमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन, महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्ने छन् । 

यस्तै महाधिवेशनमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोग अध्यक्ष डा पुष्प कँडेल, निर्वाचन आयोग अध्यक्ष डा विजय सुब्बा र सल्लाहकार परिषद्का अमृतकुमार बोहराले प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

महाधिवेशनमा प्रस्तुत गर्ने विधान संशोधन प्रस्तावका लागि एमालेले सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीमा छलफल गरी अन्तिम रुप दिएर सुझावका लागि मातहतका कमिटीमा पठाएको छ । देशभरिबाट प्राप्त सुझावका आधारमा  उपाध्यक्ष पौडेल नेतृत्वको समितिले मस्यौदालाई अन्तिम रुप दिनेछ ।

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सन्राइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछ । प्रचारका लागि केन्द्रीय प्रचार विभाग प्रमुख स्थायी कमिटी सदस्य राजेन्द्र गौतमको संयोजकत्वमा प्रचार उपसमिति गठन भएको छ । कार्यदलमा केन्द्रीय प्रचार विभाग सदस्य गणेश बस्नेत, गणेश पाण्डे, श्रीधर आचार्य, चेतन अधिकारी, दीपक ज्ञवाली, विश्वमणि सुवेदी रहेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise