२०८२ साउन २१ गते बुधवार / Aug 06 , 2025 , Wednesday
२०८२ साउन २१ गते बुधवार
Ads

सल्यानमा अविरल वर्षाले क्षति : मन्दिर र विद्यालय जोखिममा, एक परिवार विस्थापित

shivam cement
प्रदीप मगर
२०८२ साउन २१ गते १३:१३
सल्यानमा अविरल वर्षाले क्षति : मन्दिर र विद्यालय जोखिममा, एक परिवार विस्थापित

सल्यान : सल्यानमा केही दिनदेखि लगातार परेको अविरल वर्षाले जनजीवन प्रभावित बनाएको छ । कालीमाटी गाउँपालिकाका विभिन्न स्थानमा भूस्खलन र वर्षाजन्य घटनाहरू बढिरहेका छन्, जसका कारण धार्मिक, शैक्षिक र कृषिक्षेत्रमा ठुलो क्षति पुगेको छ ।

कालीमाटी गाउँपालिका–३ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल गंगामाला भगवती मन्दिरको तल्लो पर्खाल भत्किएपछि सम्पूर्ण मन्दिर संरचना नै जोखिममा परेको छ । कालीमाटी–३ का वडा अध्यक्ष शिवबहादुर खत्रीका अनुसार लगातारको वर्षाले मन्दिरको छेउमा बनाइएको पर्खाल भत्किएर प्राङ्गण कमजोर बनेको छ । ‘मन्दिर वरिपरिका भागहरूमा चिरा परेको देखिएको छ, जुन थप क्षतिको संकेत हो,’ उनले बताए ।

मन्दिर संरक्षणका लागि बनाइएका अन्य संरचनाहरू समेत जीर्ण अवस्थामा पुगेको भन्दै स्थानीयवासीहरूले मन्दिर जस्तो महत्वपूर्ण धार्मिक सम्पदाको संरक्षणमा तत्काल ध्यान दिन स्थानीय सरकार र सम्बन्धित निकायसँग माग गरेका छन् ।

त्यसैगरी, कालीमाटी गाउँपालिका–२ को बागखोर झिंगानेमा मंगलबार दिउँसो ठुलो पहिरो गएको छ । पहिरोले सिर्जनशील माध्यमिक विद्यालयको प्राङ्गण पुरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिए । विद्यालय भवन भने सुरक्षित रहेको छ ।

सोही पहिरोले विद्यालयनजिकैको लालबहादुर वलीको करिब पाँच रोपनी पाखाबारी पुरिएको छ । पहिरोले उनीहरूको घर वरिपरिका अन्नपात, पशुचौपाया र लत्ताकपडासमेत जोखिममा पारेको थियो । प्रहरीको सक्रियतामा ती सामग्रीहरू सुरक्षित स्थानमा सारिएको छ ।

प्राकृतिक विपत्तिका कारण लालबहादुर वलीको पाँच सदस्यीय परिवार विस्थापित भई छिमेकी देवबहादुर खत्रीको घरमा अस्थायी बसोबास गरिरहेको छ । पीडित परिवारको व्यवस्थापनका लागि स्थानीय सरकारसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise