काठमाडौं : भारतको उत्तराखण्डस्थित भीषण बाढीमा परेर कम्तीमा १७ जना नेपाली बेपत्ता भएका छन् ।
जाजरकोटको कुशे गाउँपालिकाको कार्यालयले विज्ञप्ति नै निकालेर कुशे गाउँपालिका–२ का १३ जना सम्पर्कविहीन रहेका र अन्य वडाका समेत केही सम्पर्कविहीन रहेको जानकारी दिएको छ ।
कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले विज्ञप्ति निकालेर यस्तो जानकारी दिएका हुन् ।
‘उक्त बाढी तथा पहिरोमा कुशे गाउँपालिका–२ का करिब १३ जनाभन्दा बढी र अन्य वडाका केही व्यक्ति पनि सम्पर्कमा नरहेकाले हराएको हुन सक्ने जानकारी सामाजिक सञ्जालमार्फत प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
गाउँपालिकाले हराएकाहरूको खोजी तथा उद्धार कार्यलाई द्रुत र प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्न नेपाल सरकार, परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गरिदिनका लागि प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराएको छ ।
यसबाहेक बर्दिया घर भएका चार जना सम्पर्कविहीन रहेका छन् ।
सम्पर्कविहीन भएको भन्दै आफन्तले स्थानीय प्रशासन गुहारेपछि उत्तराखण्डको बाढीमा परेर कम्तीमा १७ नेपाली बेपत्ता भएको पत्ता लागेको हो ।
बर्दियाको जिल्ला प्रशासन कार्यालयका अनुसार उत्तराखण्डमा रहेका नेपालीमार्फत बेपत्ता भएको जानकारी प्राप्त भएको हो । भारतस्थित नेपाली दूतावासमार्फत जिल्ला प्रशासन कार्यालयले समन्वयसमेत गरिरहेको छ ।
उत्तराखण्डस्थित उत्तरकाशी जिल्लाको धराली बजारमा बाढीले बढी क्षति पुर्याएको छ । उत्तराखण्डमा गत मंगलबार वर्षापछिको बाढीपहिरो आएको हो ।