प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरुको अवरोध बीच शुक्रबार सरकारले संशोधित बजेट ल्याएको छ । रोष्टममा नाराबाजी चलिरहँदा अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्ष २०७८/०७९ का लागि संशोधित बजेट पेश गरे । २३ भदौदेखि शुरु भएको प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटा प्रति आक्रोश व्यक्त गरिरहेका छन् । एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले आफ्नो भूमिका भुलेको भन्दै संसद् अवरुद्ध गरिदै आएको थियो । संसद् अवरुद्ध कायमै रहँदा शुक्रबार अर्थमन्त्री शर्माले अध्यादेश विधेयक प्रस्तुत गरे, संसद्को बहुमतले पारित भएपछि संशोधित बजेट ल्याइएको छ । शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले सभामुखको भूमिकाप्रति आपत्ति जनाउँदै संसदमा सशक्त रुपमा प्रस्तुत हुने निर्णय समेत गरेको छ ।
यसले प्रतिनिधिसभाको मूडभेड कायमै रहने अनुमान गर्न सकिन्छ । संसद् सजिलो नहुने संकेत बैठक शुरु हुनु अगाडि देखिएको थियो । तर सभामुख सापकोटाले सहमतिको आवश्यक पहल गरेनन् । सहमतिका निम्ति गरिएको प्रयत्न औपचारिकताका लागि मात्रै रहेको एमाले आरोपमा केही सत्यता समेत पाउन सकिन्छ । किनकि जुन तहको विवाद संसद्मा कायम छ, त्यसका लागि छलफल गर्न आवश्यक समय लिइएन । यदि आवश्यक समय दिइएको थियो भने संशोधित बजेट ल्याउँदाको दृष्य अलग हुन सक्थ्यो । किनकि एमाले नेतृत्वको सरकारले संसदबाट नभएर अध्यादेशबाट बजेट ल्याएको थियो । अहिले संसद् पुनस्र्थापना भएकाले कर निर्धारण सम्बन्धी निर्णय प्रतिनिधिसभा बैठकले गर्नुपर्ने हुन्थ्यो । यसमा एमालेले पनि आफूलाई रचनात्मक भूमिकामा ल्याउन सक्थ्यो र पथ्र्यो पनि ।
तर न सभामुख सापकोटाले, न त दलीय नेतृत्वले नै सहमतिको आवश्यक पहलकदमी लियो । यसले फेरि पनि संसद् प्रभावकारी भूमिकामा नरहने अनुमान गर्न सकिन्छ । त्यसैपनि प्रतिनिधिसभाले गएको दुई वर्षदेखि प्रभावकारी काम गर्न सकेको छैन । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादको असर प्रतिनिधिसभामा देखिएको थियो । दुई पटक ओलीले संसद् भंग गर्ने निर्णय गरे, तर दुवै पटक सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गरिदियो । पुनस्र्थापित संसद् पनि अब बहुमतको बलमा मात्रै नभएर जनप्रतिनिधिहरुको स्थलका रुपमा सक्रिय हुन आवश्यक छ । अर्थात्, संसद् सञ्चालनका सन्दर्भमा नेतृत्वले निर्विकल्प रुपमा सहमतिको खोजी गर्न जरुरी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies